ओलीले अदालतलाई धम्क्याए : मोहनविक्रम सिंह

फाल्गुन १०, २०७७

प्रकाश बराल

बागलुङ — नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई समेत आक्रमण गरेर ओलीले अधिनायकवाद देखाएको समेत टिप्पणी गरे । सोमबार बिहान प्रगतिशील पत्रकार संघले बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले ओलीको अधिनायकवादविरुद्ध संयुक्त आन्दोलनको आवश्यकता रहेको समेत बताए । ‘विराटनगर पुगेर ओलीले अदालतलाई धम्क्याएका छन्,’ उनले भने, ‘आफै असंवैधानिक काम गर्ने, आफै अदालत धम्क्याउने खेलले निरंकुशता लाद्न खोजेको देखिन्छ ।’

उनले कांग्रेससहितका सबै दलको संयुक्त आन्दोलनको बलले संसद् पुन:स्थापना गर्नुपर्ने बताए । ‘नेपाल भारत, अमेरिका र चीनको स्वार्थको क्रिडास्थल बन्ने खतरा देखिएको छ, ओली त्यसको मतियार भएका छन्,’ सिंहले टिप्पणी गरे । एमसीसीको नाममा भारत र अमेरिकाबाट नेपाल ध्वस्त पार्ने र चीनको पनि आक्रमणको स्थल नेपालै बन्ने खतरा रहेको उनको भनाइ थियो । 

पार्टीको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाको आन्दोलनका क्रममा बागलुङ आएका सिंह अर्धभूमिगत रुपमा केही कार्यक्रममा सहभागी भएका थिए । पार्टी अध्यक्ष भएकाले ओलीले नै नेकपा फुट्नबाट बचाउनु पर्ने उनले बताए । ‘संवैधानिक संकट र पार्टी फुटको बेला छोपेर विदेशी शक्तिले देशको अस्मिता लुट्नेछन्,’ उनले भने, ‘गणतन्त्र, धर्म निरपेक्षता जस्ता सबै उपलब्धि पनि गुम्नेछन् ।’

संसद् पुन:स्थापनाबाटै समस्या समाधान र विकल्प खोज्न सकिने उनले बताए । ‘गत निर्वाचनमा हामीले एक भएको नेकपासँग चुनावी एकता गरेका थियौं, नेकपाकै सरकारलाई समर्थन गरेका थियौं,’ सिंहले भने, ‘ओलीको अधिनायकवादलाई समर्थन गर्न सकिँदैन, हामीले समर्थन फिर्ता लिइसकेका छौं ।’ प्रदेश तहमा पनि अविश्वास प्रस्ताव आयो भने दाहाल नेपाल समूहलाई साथ दिने उनको संकेत थियो । ‘गण्डकी प्रदेशमा हामीले साथ दिएका छौं, अविश्वास प्रस्ताव आयो भने ओली गुटलाई साथ दिँदैनौँ,’ उनले भने, ‘आफै सरकार ढाल्ने खेलमा भने सहभागी बन्दैनौँ ।’ 

संसद् विघटननेकपा विवाद

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully