दाहाल-नेपाल पक्ष प्रदेशमा भाँजो हाल्न आएको छ : मुख्यमन्त्री राई

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपामा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रदेशमा भाँजो हाल्न लागेको आरोप लगाएका छन् । नेकपा केपी शर्मा ओली समूहको विराटनगरमा आयोजित सभामा मुख्यमन्त्री तथा नेता राईले प्रदेश कब्जा गर्न नदिने बताएका छन् । 

दाहाल-नेपाल पक्ष प्रदेशमा भाँजो हाल्न आएको छ : मुख्यमन्त्री राई

प्रदेश १ मा मुख्यमन्त्री राईविरुद्ध नेकपाको दाहाल-नेपाल पक्षले प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेको छ । त्यसपछि प्रदेश सभाको बैठक बस्न सकेको छैन । राईले आफूलाई हटाउने भए प्रदेश सभा विघटन गर्नेसम्मको चेतावनी दिइसकेका छन् ।

शनिबार आयोजित भेलामा राईले भने, 'दाहाल-नेपाल-खनालले विधि विधानको राग अलाप्दै आइरहनुभएको छ । प्रधानमन्त्री, अध्यक्षलाई बीचमै हटाउने भन्नुहुन्छ । चुनावी प्रक्रियाबाट आएका मुख्यमन्त्रीहरूलाई हारेका मुख्यमन्त्रीका लागि एक वर्ष नपुग्दै प्याकेज माग गर्दै आउनुभएको छ ।'

दाहाल-नेपाल पक्ष प्रदेशमा भाँजो हाल्न आएको राईको भनाइ थियो । त्यस्ता गतिविधि सफल हुन नदिने र पराजित गर्ने उनको भनाइ छ । उनले थपे, 'विधि प्रक्रियाको खिल्ली उडाउँदै आउनुभएको छ । प्रदेश कब्जा गर्न दिँदैनौं । प्रदेशलाई संस्थागत गर्दै अगाडि बढ्छौं ।'

राईले निर्वाचन आयोगले शुक्रबार नै बैशाखमा घोषणा भएको चुनावको तयारी थालेको जानकारी दिएको दाबी गरे । राजनीतिक दलहरू पनि निर्वाचनमा भाग लिनका लागि तयारी गरिरहेको उनको भनाइ थियो । दाहाल-नेपाल पक्ष पनि अर्को निर्वाचन चिह्न रोजेर र पार्टी दर्ता गरेर चुनावमा लाग्ने उनको भनाइ थियो ।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानमन्त्री र मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने तयारी गरेकाले प्रतिनिधिसभा विघटन गरिएको राईको दाबी थियो । 'राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्रीहरूलाई अपदस्त गरेर एउटा कित्ताले सत्ता कब्जा गर्ने तयार भएको छ । यो कित्ताले देश अध्याँरो सुरुङभित्र लगेको छ,' उनले भने ।

प्रकाशित : फाल्गुन ८, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?