काठमाडौँ — अदालतको अवहेलना गरेको भनेर परेको मुद्दामा चार पूर्वप्रधानन्यायाधीशहरूको आगामी पेसी फागुन ६ गतेका लागि तोकिने भएको छ ।
अवहेलना मुद्दाको लिखित जवाफ दिएपछि सोमबार सर्वोच्च प्रशासनले फागुन ६ गतेका लागि पेसी तोकेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताए । उक्त मुद्दा बिहीबार इजलासमा पेस भइ दुवै पक्षबाट बहस हुनेछ ।
सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनको मुद्दासँग सम्बन्धित विषयमा चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेका थिए । त्यसरी विज्ञप्ति जारी गरेर अदालतको अवहेलना भयो भनेर अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।
उक्त रिट निवेदनमा माघ १५ गते सुनुवाइ भएको थियो । न्यायाधीश मनोजकुमार शर्माको इजलासले चारवटै पूर्वप्रधानन्यायाधीशहरूलाई बाटोको म्यादले ७ दिनभित्र लिखित जवाफ ल्याएर उपस्थित हुन आदेश दिएको थियो ।
सम्बन्धित समाचारहरूः
