प्रधानमन्त्री ओलीले बुझे अदालतको अवहेलना मुद्दाको म्याद

फाल्गुन ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको म्याद बुझेका छन् । सर्वोच्च अदालतका तामेलदारले आइतबार प्रधानमन्त्रीलाई म्याद बुझाएको सर्वोच्च अदालत स्रोतले जानकारी दियो ।

अदालतको अवहेलना गरेको भनेर प्रधानमन्त्री ओलीविरुद्ध परेको मुद्दामा माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । 

अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकुमार न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए । 

प्रधानमन्त्री ओलीले अब ७ दिनभित्र सर्वोच्च अदालतमा उपस्थित भएर अवहेलना मुद्दाको लिखित जवाफ पेस गर्नेछन् । 

न्यायाधीश शर्माकै इजलासले पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दामा पनि आफैं उपस्थित भएर लिखित जवाफ दिन आदेश भएको थियो । ढुंगाना आदेशमा भने ठेगाना फरक परेकाले तामेलदार म्याद नबुझाइ फर्किएका थिए । उक्त ठेगाना संशोधन गरेर फेरि पठाइने तयारी रहेको सर्वोच्च अदालतका अधिकारीले जानकारी दिए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको थियो  । दाहाललाई पनि लिखितसहित आफैं उपस्थित हुन भन्ने आदेश न्यायाधीश शर्माको इजलासले दिएको थियो ।

चार पूर्व प्रधानन्यायाधीशले भने आफैं म्याद बुझेर सोमबार जवाफ दिएका छन् ।

कान्तिपुर

Link copied successfully