श्रीमान्‌हरूले प्रतिनिधिसभा पुनःस्थापना गर्नुभएन भने मुख्यमन्त्रीहरू र प्रधानमन्त्री तानाशाह हुनेछन् : वरिष्ठ अधिवक्ता भण्डारी

फाल्गुन ३, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनःस्थापना भएन भने भविष्यमा मुख्यमन्त्रीहरू र संघीय तानाशाह हुने बताएका छन् । जवाफी बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता भण्डारीले प्रतिनिधिसभा विघटन मुद्दामा न्याय गर्न पनि आग्रह गरेका छन् । 

रिट निवेदकका तर्फबाट जवाफी बहसमा सहभागी भएका वरिष्ठ अधिवक्ता भण्डारीले भने, 'आज श्रीमान्‌हरूले प्रतिनिधिसभा पुनःस्थापना गर्नुभएन भने भोलि प्रदेशहरूमा मुख्यमन्त्रीहरू र संघीय तानाशाह हुनेछन् ।'

प्रतिनिधिसभा विघटन गरेर सरकारले अपराध गरेको भण्डारीको भनाइ थियो । 'सरकारले अपराध गरेको छ,' विगतमा कहिल्यै पनि पूर्ण बहुमतको सरकार नबनेको अवस्थामा झन्डै दुई तिहाइको सरकारले संसद् हुँदा पनि स्थिरता नभएको भन्दै उनले थपे, 'प्रधानमन्त्री कहिल्यै पनि संसद्‌मा जानु भएन । कहिल्यै जानुभएन । र पनि भन्नुहुन्छ सांसदले बिल पास गरेन ।'

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको लिखित कारण एउटा भनेको र पुस ६ गते अर्कै कारण देखाएर विज्ञप्ति जारी गरेको वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो । 

उनले राजपत्रमा सूचना प्रकाशित भएमा मात्रै लागू हुने पनि तर्क गरे । उनले भने, 'लालमोहर लागेको मितिमा निर्णय लागू हुँदैन, राजपत्र जारी भएको मितिमा निर्णय लागु हुन्छ ।'

प्रतिनिधिसभा विघटनको घोषणा पुस ५ गते भएपनि माघ ८ गते छापिएको थियो भने माघ ९ गते इजलासमा पेस गरिएको थियो । 

राजपत्रमा सूचना प्रकाशन भएभन्दा पहिल्यै संसद्‍मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पनि वरिष्ठ अधिवक्ता भण्डारीको भनाइ थियो । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव आउँछ भनेर नै प्रतिनिधिसभा विघटन गरेको र त्यस्तो गर्न नपाइने भन्दै उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरे । 

कान्तिपुर

Link copied successfully