नेकपा फुटेको छैन, केही स्वार्थी व्यक्ति चोइटिएका हुन् : विष्णु पौडेल

प्रचण्डले जनयुद्धका योद्धासमेत बचाउन सकेनन् : ऊर्जामन्त्री टोपबहादुर रायमाझी
अब माधव नेपाल र प्रचण्डले जनताको जनमतको भिख माग्नुपर्ने भएको छ : मुख्यमन्त्री शंकर पोखरेल
अमृता अनमोल

बुटवल — नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा पार्टी नफुटेको तर केही स्वार्थी व्यक्ति मात्रै चोइटिएको बताएका छन् ।

नेकपा फुटेको छैन, केही स्वार्थी व्यक्ति चोइटिएका हुन् : विष्णु पौडेल

बुटवलमा ओली पक्षले शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेपाली जनता नेकपाको पक्षमा रहेको र उनीहरुले पार्टी फुट्न नदिने दाबी गरे । ‘नेकपा पार्टी फुटेको छैन । केही स्वार्थी, लोभी र विभाजनकारी तत्व मात्रै चोइटिएका हुन्,’ उनले भने ,‘नेपाली जनताले नेकपालाई फुट्न दिदैनन् ।’

महासचिव पौडेलले पुष्पकमल दाहाल कसैले कुरा बताएर कुरा बुझ्ने व्यक्ति भएको बताउँदै अवस्थाले समेत बुझाउन नसक्दा उनीसँगै केही व्यक्ति सडकमा गएको बताए । ‘प्रचण्ड कमरेड केपी ओलीलाई कसरी प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भन्ने ध्याउन्न मात्रै हुनुहुन्छ । त्यसैले जनताले साथ दिएका छैनन् । केही अलमलिएका मात्रै छन्,’ उनले भने ।

आफ्नो पद र प्रतिष्ठाका लागि मात्रै पार्टी छोडेर सडकमा गएका नेतालाई जनताले साथ नदिने महासचिव पौडेलले बताए । खास विचार र व्यवस्था परिवर्तनका लागि विरोध र आन्दोलन हुनुपर्ने र पार्टी विभाजित हुने बताउँदै उनले अहिले त्यस्तो नदेखिएकाले पार्टी नफुट्ने बताए । ‘नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छैन । विभाजित हुने पनि छैन । जरुर केही स्वार्थी तत्व आन्दोलनबाट किनारा लाग्नेछन् । अहिले त्यही भएको छ,’ उनले भने ।

महासचिव पौडेलले निर्वाचन आयोगले पार्टी फुटेको भन्न नमिल्ने अभिव्यक्ति दिएकाले पनि पार्टी नफुट्ने र मिलेर चुनावमा जाने दाबी गरे । यस्तोमा अलमलमा परेका नेता कार्यकर्ता पनि आफ्नै ठाउँमा फर्कन उनले आग्रह गरे । ‘जो जो अन्योल र अलमलमा हुनुहुन्छ उहाँ पनि यतै आउनुहुनेछ । जसले कम्युनिष्ट पार्टीको माध्यमबाट देश र समाज बदल्न चाहनुहुन्छ । मेची महाकालीका साथीहरु तपाईंहरु आउनुस् । संगै काम गरौं ।’

महासचिव पौडेलले जनता केपी ओलीको पक्षमा रहेको र अबपनि केपी ओलीकै नेतृत्वमा चुनाव हुने र सरकार बन्ने दाबी गरे । ‘जतिबेला उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, भुकम्पले थिलोथिलो भएका बेला नाकाबन्दीको सामना गर्नुपरेको थियो । त्यसबेला पनि जनताले साथ दिएका थिए । अहिले पनि दिनेछन्,’ उनले भने,‘अबपनि एकपटक ओलीको नेतृत्व आवश्यक पर्यो । तपाईं हामी जुटेर सहयोग गरौं ।’

नेता पौडेलले कोही मान्छेले भ्रम छर्न चुनाव हुन्न भनेपनि आउँदो वैशाख १७ र २७ गते दुवै चुनाव भइछाड्ने र केपी नेतृत्वको सरकारलाई कसैले छेक्न नसक्ने बताए ।

प्रचण्डले जनयुद्धका योद्धासमेत बचाउन सकेनन् : ऊर्जामन्त्री टोपबहादुर रायमाझी

नेकपा नेता तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले गणतन्त्रका लागि जनयुद्ध लडेका योद्धालाई समेत आफूसँग टिकाउन नसकेको बताए । ‘जसले गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडे उनैले पनि साथ छोडेका छन् ।अब प्रचण्डको ध्वंश सकिएको छ,’ उनले भने । उनले दुई/दुई पटक प्रधनमन्त्री हुँदा जनमुक्ति सेनाको संरक्षण र निःशुल्क उपचार गर्न नसकेको बताउँदै अब तिनीहरुको संरक्षण सरकारले गर्ने बताए ।

बुटवलमा जनसभामा सम्बोधन गर्दै उनले नेतृत्वका नेताहरु पद र प्रतिष्ठाका लागि लडेकाले उनीहरुको पछि लाग्न नसकिएको बताएका छन् । ‘कमरेड प्रचण्डको विरोध पद र प्रतिष्ठासँग जोडिएको छ त्यसैले हामी त्यता गएनौं । पार्टी जुट्दा पुष्पकमलले प्रस्ताव,माधवले समर्थन हाम्ले ताली पिट्यौ । अब त्यत्तिकै फुट्दैनौं,’ उनले भने ।

अब माधव नेपाल र प्रचण्डले जनताको जनमतको भिख माग्नुपर्ने भएको छ : मुख्यमन्त्री शंकर पोखरेल

कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले पार्टीबाट चोइटिएका माधव नेपाल र प्रचण्डले जनताको जनमतको भिख माग्नुपर्ने बेला आएको बताएका छन् । आफ्नो स्वार्थ र पदका लागि मात्रै सही बाटो छोडेर सडकमा गएको बताउँदै उनले अब उनीहरुको पक्षमा जनमत नरहने बताए । ‘अब माधव नेपाल र प्रचण्डले जनताको जनमतको भिख माग्नुपर्ने भएको छ,’ पोखरेलले भने,‘उहाँहरु विलय हुँदै हुनुहुन्छ।’

मुख्यमन्त्री पोखरेलले संस्थापक पक्ष केपी ओली नेतृत्वको भएकाले कसैलाई अलमलमा नपर्न आग्रह गरे । ‘अब संस्थापक पार्टीको भन्नेबारेमा बहस जरुरी छैन जमनतले देखाइसकेको छ । हाम्रै पाटी आधिकारिक र संस्थापक हो,’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका जनता कसका पक्षमा छन् भन्ने देखाउनु आवश्यक रहेकाले सभा आयोजना गरेको बताउँदै लुम्बिनीका जनताले त्यसलाई प्रमाणित गरेको बताए । ‘लुम्बिनी प्रदेशले बुटवलका माध्ययमबाट ऐतिहासिक जनआन्दोलन,२०६२/२०६३ को आन्दोलनमा भूमिका खेलेको बुटवलले आज देशले राष्ट्रियता, स्वाधिनता चाहेको प्रमाणीत गरेको छ,’ उनले भने । ‘लुम्बिनीका कतिपय नेताले बाटो बिराएका छन् । तर, जनताले बिराएका छैनन्,’ उनले भने ।

उनले वैशाखमा चुनाव हुने र केपी नेतृत्वको नेकपाले अहिलेभन्दा बढी मत ल्याउने उनले दाबी गरे । रोल्पा रुकुम प्रचण्डले जे चाह्यो त्यही हुने जिल्लाका रुपमा चिनिएपनि अब ओली नेतृत्वको झण्डा फहराउने उनले बताए ।

प्रकाशित : फाल्गुन १, २०७७ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?