दाहालको प्रश्‍न- केपीजी हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?

'ओलीको कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउन हाम्रो अलग अलग कुरा भइरहेको छ'

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली हिन्दु महासंघको अध्यक्ष हुन् कि कम्युनिस्ट पार्टीको अध्यक्ष भन्नेबारेमा प्रश्न उठेको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको अन्तरक्रियामा दाहालले ओलीका क्रियाकलापले नै नेपाली जनताले त्यस्तो प्रश्न उठाएको बताएका हुन् । 

दाहालको प्रश्‍न- केपीजी हिन्दु महासंघको अध्यक्ष हो कि कम्युनिस्ट पार्टीको ?

'विगतदेखि नै उहाँको सम्बन्ध, हिमचिम देखिएको छ । उहाँले पशुपतिमा गएर दीप प्रज्वलन गर्ने, ३० करोड हाताहाती जस्तो दिएर जलप लगाउने कुराले के गर्न खोज्नु भएको भन्ने उहाँले नै प्रश्न उठाउनु भएको छ । मेरो निर्वाचन क्षेत्र चितवनमा राम मन्दिर र अयोध्याको कुरा गर्नुभएको छ,' उनले भने, 'मेरो क्षेत्रमा गएर राम मन्दिर र अयोध्याबारे प्रचण्डले बोलेन भनेर आरोप लगाउनु भएको छ । यो सबैले मान्छेको मनमा प्रश्न उठेकै छन् नि । नेपाली जनताले प्रश्न उठाएका छन् । केपीजी भनेको के हो ? उहाँ कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ?'

नेपालमा रामको जन्म भएको प्रमाणित भए र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने सबैभन्दा खुशी आफूलाई हुने उनले दाबी गरे । 'यदि नेपालमा अयोध्या प्रमाणित हुन्छ, रामको जन्म प्रमाणित हुन्छ भने र त्यहाँ धार्मिक पर्यटकीयस्थल हुन्छ भने म भन्दा खुशी त अरु कोही हुनै सक्दैन । हामीले धार्मिक स्वतन्त्रताको कुरा गरेका छौं । धर्मप्रति हाम्रो कहिँकतै नकारात्मकता छैन । राज्य पो धार्मिक निरपेक्ष हुनुपर्छ भनेको हो । जनताको धार्मिक आस्थालाई सम्मान गर्न पर्दैन भन्ने हामी कसैको हैन,' दाहालले भने ।

प्रधानमन्त्री ओलीले राज्यकोतर्फबाट पुरातात्विक अन्वेषण गर्न पहल नगरेर स्टन्ड दिने कोसिस मात्रै गरेको दाहालको आरोप छ । 'मेरो चुनौती केपीजीलाई के छ भने उहाँ पुरातात्विक अन्वेषण गर्ने, प्रमाणित गर्ने र त्यसको निम्ति राज्यकोतर्फबाट पहल गर्नेमा उहाँले सिन्को भाँच्नु भएको छैन,' दाहालले भने, 'स्टन्ट दिने कोसिस गरेको मात्रै हाम्रो आपत्ति हो ।'

अदालत र निर्वाचन अयोगमा सेटिङ छ भनेर ओलीका मान्छेले भ्रम फिजाए पनि आफूहरुले सेटिङमा विश्वास नगर्ने उनको दाबी छ । संवैधानिक अंगले संविधान र कानुनबमोजिम नै फैसला गर्ने विश्वास आफूहरुको रहेको उनले बताए । 'जसरी बजारमा आम रुपमा चर्चा चल्ने गरेको छ सेटिङ भन्ने । यो कुरा प्रधानमन्त्रीसँग सम्बन्धित मान्छेहरुले तलतलसम्म पुर्‍याएका छन् कि यो सेटिङमा गरिएको त्यसकारण हाम्रै अनुसार फैसला हुन्छ । सर्वोच्च र निर्वाचन आयोगले पनि हाम्रै अनुसार गर्छ भनेर व्यापक रुपमा प्रचार भएको छ । त्यस्तो हुन सक्दैन । सर्वोच्च अदालत र आयोग स्वतन्त्र ढंगले काम गर्न सक्छन् । हामीलाई सर्वोच्च अदालत र निर्वाचन आयोगप्रति विश्वास छ । सेटिङमा विश्वास छैन,' दाहालले भने ।

असंवैधानिक र अलोकतान्त्रिक ढंगबाट घोषणा भएको निर्वाचन भइहाले त्यो पनि असंवैधानिक नै हुने उनले बताए । 'अब त करिब करिब वैशाखमा चुनाव हुँदैन भन्ने पुष्टि भइसकेको छ । यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वच्छाचारी कदमलाई सदर गरियो भने त्यसबेला देश निकै ठूलो राजनीतिक संकटमा जान्छ,' दाहालले भने, 'यदि प्रधानमन्त्रीको कदमलाई सदर गरियो भने राजनीतिक भूमरिमा देश पर्छ । हामी त्यस्तो नहोस् भन्ने चाहिरहेका छौं । हामी लोकतन्त्र, संविधान ट्रयाकमा गइराखोस् भन्ने नै हो ।'

ओलीले संविधान, लोकतन्त्रलाई डिरेल गर्न खोजेपनि त्यो सफल नहुने दाहालले बताए । 'केपीजीले डिरेल गर्न खोज्नु भएको संघीय लोकतान्त्रिक गणतन्त्र ट्रयाकमा आउँछ भन्ने हामीलाई विश्वास छ,' दाहालले भने ।

ओलीको प्रतिगामी कदमविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने कोसिस भएको दाहालले बताए । 'अन्तर्राष्ट्रिय समर्थन जुटाउन हाम्रो अलग अलग कुरा भइराखेको छ । भारत, चीन, अमेरिका, युरोपियनसँग पनि कुरा भइराखेको छ । हामीले सार्वजनिक अपिल पनि गरेका छौं । नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ । लोकतन्त्रका पक्षमा नेपाली जनतलाई समर्थन चाहियो भनेर औपचारिक अपिल गरेका छौं,' उनले भने ।

प्रकाशित : माघ २७, २०७७ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?