२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

झ्यालबाट जुलुस नियालिरहेकाहरू

शिशिर वैद्य

काठमाडौँ — आजसम्म जीवन जे जति बन्यो जिउनलायक
जुलुस गएरै बनाएको हुँ मैले
म जुलुसलाई सय जीवन दिन चाहन्छु
तानाशाह नयाँ होस् या पुरानो
म झेल्न सक्दिनँ....

झ्यालबाट जुलुस नियालिरहेकाहरू

कवि विनोदविक्रम केसीको ‘जुलुस गइरहने मान्छे’ कविता अहिले चर्चामा छ । कविता पढ्दै गर्दा, सुन्दै गर्दा त्यो जुलुसमा म आफूलाई कवि केसीसँगै पाउँछु । काठमाडौं सहर अहिले जुलुसमय छ । माइतीघर चोकको दक्षिणपट्टिको कुनो जुलुस गर्ने स्थायी ठेगाना बनेको छ । विरोधका अनेक रंग र रूप देख्न पाइन्छ त्यहाँ । कहिले किसान, कहिले विद्यार्थी, कहिले अधिकारकर्मी र कहिले नाट्यकर्मी आएर उभिन्छन् त्यहाँ, अनि नारा लगाउँछन् मूर्दावाद–मूर्दावाद । कोही नाटकबाटै मूर्दावाद मञ्चन गर्छन्, कोही गायनबाट अनि कोही कविताबाट ।

माइतीघर चोकको कुनोमा बसेर लगाइएका अनेक शैलीका ती मूर्दावादका नारा सिंहदरबारको कानसम्म भने अझै पुग्न सकेको छैन । सिंहदरबारका झ्यालहरूमा बाक्लो कालो सिसा लगाइएको छ । त्यसैले बाहिर लगाइएका चर्का नारा ती सिसाभित्र पस्दैनन् । अग्ला पर्खालले घेरिएको सिंहदरबारभित्र हामीले नै चुनेर पठाएका प्रतिनिधिहरू बस्छन् । सिंहदरबारबाहिर ती हाम्रा प्रतिनिधि भए पनि दरबारको अजंगको मूलद्वारभित्र प्रवेश गर्नेबित्तिकै ती जनप्रतिनिधिबाट शासकमा परिणत हुन्छन् ।

अजबको वातावरण छ, सिंहदरबारभित्र । सिंहदरबारले नसुनेको आवाज सुनाउन बालुवाटार मार्च गरेका छन् नागरिक अगुवाहरूले । बालुवाटार अर्थात् प्रधानमन्त्रीको सरकारी निवास । केही वर्षदेखि शक्ति केन्द्र बनेको छ बालुवाटार । वर्क फ्रम होमको अनुकरणीय उदाहरण हो, बालुवाटार । हाम्रा प्रधानमन्त्री कार्यालय जाँदैनन्, सम्पूर्ण काम घरबाटै गर्छन् । वर्क फ्रम होमले विश्वभरि नै कार्यालय सञ्चालन र व्यवस्थापनको परिभाषा बदलेको छ । तर हाम्रा प्रधानमन्त्रीहरूले कोभिड प्रकोप सुरु हुनुभन्दा निकै वर्षअघिदेखि नै वर्क फ्रम होमको चलन चलाएका छन् ।

केसीसँगै हिँडिरहेको त्यो जुलुस नागरिकहरूको हो, जो आन्दोलित भएका छन् प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध । बृहत् नागरिक आन्दोलनको तुल अघिअघि छ जुलुसको । पछि­पछि छातीमा, हातमा, निधारमा विरोधका आवाजहरू बोकेर लामबद्ध छन्, आन्दोलनका सहयात्री नागरिकहरू । जुलुसमा युवा छन्, प्रौढ छन्, सेतै कपाल फुलेका केही वृद्धहरू पनि छन् । ती लामबद्ध विभिन्न पेसाकर्मी नागरिकको जुलुसलाई सहर झ्यालबाट नियालिरहेको छ । आन्दोलनका उभार उठ्दा सहर यसरी नै आन्दोलनलाई नियाल्छ ।

सडकमा नारा लगाउँदै जुलुसमा हिँडिरहेका मानिसहरूले सहरको प्रतिनिधित्व गर्दैनन् । कसलाई फुर्सद छ र सहरमा यसरी जुलुसमा हिँड्न ? गाउँबाट पैसाका लागि आएका भाडाका मानिसहरू र विदेशीको पैसाको आडमा चलेको ‘पेड’ आन्दोलन हो यो । झ्यालबाट नियाल्दै सहरले सोच्ने यस्तै–यस्तै हो । यो सोचमा अडिग छ सहर । हरेक जनआन्दोलनको जुलुसलाई झ्यालबाट नियालेर यस्तै आरोप लगाएको छ सहरले । भाटभटेनीको सडक–सभामा प्रतिगमनको विरोध गरिरहेका युवालाई नियालिरहेका थिए, नजिकैको फिटनेस सेन्टरबाट केही युवा । उनीहरू शरीरको तन्दुरुस्तीका लागि स्किपिङ र ट्रेडमिलमा ‘जगिङ’ गरिरहेका थिए । सडकमा चलिरहेको सभा उनीहरूका लागि फगत फुर्सदिला ‘पाखे’हरू र एनजीओको पैसामा जम्मा भएकाहरूको भीड हो ।

सडकमा मार्च गर्ने युवा, पानीको फोहराको झट्का खाने युवा, सडकमा प्रहरीको लट्ठी खाने युवा र झ्यालबाट नियालिरहेका पनि युवा । सबै यही देशका युवा नै हुन् । पढेलेखेका र होनहार । यी युवाको सोचमा यत्रो भिन्नताचाहिँ किन होला ? किन ती झ्यालबाट नियालिरहेका युवा सडकमा अधिकारका लागि उर्लेका युवासँग मिसिन चाहँदैनन् ? किन रमिते नै रहन चाहन्छन् उनीहरू सधैं ? प्रश्न गम्भीर छ । तर उनीहरूसँग सहज उत्तर छ­ ‘राजनीति फोहरी खेल हो’ । राजनीति फोहरी खेल हो भने यसलाई सफा बनाउने जिम्माचाहिँ कस्को त ? पढेलेखेका, सचेत, समझदार, जेहेनदार युवाहरूकै त हो ।

जो सडकमा छन्, जो राजनीतिक व्यवस्थामाथि आएको संकटको विरोध गरिरहेका छन्, जो लामो संघर्षपछि लेखिएको संविधानमाथि भएको ‘कू’ को विरुद्धमा आवाज उठाइरहेका छन्, जो नागरिकको बोल्न पाउने, लेख्न पाउने, गलतलाई गलत भन्न पाउने अधिकारको रक्षाका लागि सडकमा छन्, जो भ्रष्टाचारका विरुद्ध एकताबद्ध भएका छन्, जो समाजका हरेक तह–तप्कामा भएको अतिराजनीतीकरणको विरोधमा छन्, ती कसरी पाखे र पेड ? अनि ती जो रमिता हेर्छन्, जो राजनीतिमा देखिएको सबै अति मात्र झ्यालमा बसेर नियाल्छन् । के भन्ने तिनलाई ?

सहर प्रश्न गर्छ बेलाबेला– के लछार्‍यो गणतन्त्र आएर ? के दियो नयाँ संविधानले ? के दियो लोकतन्त्रले ? एक राजा हट्यो तर अहिले हरेकलाई राजा बन्ने र राजकीय सोख पाल्ने अभिलाषा जागेको छ । शिक्षा, स्वास्थ्य, निजामती सेवादेखि सार्वजनिक सेवासम्म राजनीतिको फोहर र भ्रष्टाचारले लतपतिएका छन् । सरकार जनतासँग हरेक कुरामा कर माग्छ तर त्यसबापत जनताले पाउनुपर्ने न्यूनतम सुविधाहरूको प्रत्याभूति गर्दैन । ठेकेदारहरू ठेक्का लिन्छन्, भ्रष्टाचार गर्छन् तर काम गर्दैनन् । नेताहरूको आड जो छ तिनीहरूलाई ।

विकासका नाममा सम्पदाहरू मिसिँदै छन् । सम्पदा र संस्कृतिमाथि अतिक्रमण हुने कानुन बनाइएको छ । आधुनिकताका नाममा मौलिकता नासिने विकासले हाम्रो पहिचान नै गुम्ने खतरा बढेको छ । किसानले आफ्नो मिहिनेत, पसिनाको कमाइ नपाउँदा पनि सरकार मिल मालिकहरूलाई कारबाही गर्न आलटाल गर्छ । किसान आन्दोलित हुनुपर्छ । मिल मालिकहरूसँग कमिसन जो खाएका छन् । के दियो संघीयताले, दलका नेता–कार्यकर्ताका लागि खानेबाटोसिवाय ? खोइ विकेन्द्रीकरण ? किन सहरप्रतिको मोह घट्न सकेको छैन ? किन युवा बिदेसिइरहेका छन् अझै, दैनिक हजारौंको संख्यामा ? किन सहरका सडकमा फुटपाथ व्यापारी दिनदिनै बढ्दै छन् ? भएका दुई–चार ठूला उद्योग पनि नामेट हुने गरी बेच्नेबाहेक, के दियो यो लोकतन्त्रले ?

सहरसँग प्रश्नहरूको पुलिन्दा ठूलो छ । असन्तुष्टिको आयतन दिनानुदिन बढ्दो छ । तर ती सब असन्तुष्टिको जवाफ खोज्न पनि त गर्नुपर्ने भनेकै विरोध होइन र ? संविधानको पूरै पाना पल्टिन पनि नभ्याईकन भएको संविधानको उल्लंघनमा सचेत नागरिक स्तरबाट गरिनुपर्ने त विरोध नै त हो । नागरिकले राज्यप्रति असन्तुष्टि पोख्ने माध्यम भनेकै जुलुस र आन्दोलन हो । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै वाक्–स्वतन्त्रता हो । जहाँ हामी प्रश्न गर्न पाउँछौं, विरोध गर्न पाउँछौं । जब प्रश्न गर्न बन्देज हुन्छ, जब विरोधका आवाज दबाइन्छ तब तानाशाहको जन्म हुन्छ । तानाशाहको जन्मले देश र समाजलाई कता लैजान्छ त्यसका थुप्रै उदाहरण इतिहास पढे थाहा पाइन्छ । विरोध नगरिएको भए गुठी विधेयकमा लालमोहर लागिसक्ने थियो । विरोध नगरिएको भए रानीपोखरीले वर्तमान रूप कहिल्यै पाउने थिएन । विरोध र आवाज नउठाएको भए सायद राणाशासन ढल्ने थिएन ।

त्यसैले सहरमा फेरि एकपटक नागरिक अगुवाहरू जुलुसमा छन् । कहिले बालुवाटार, कहिले टेकु, कहिले सिफल, कहिले शोभाभगवती, कहिले पानीपोखरी । नागरिक अगुवाहरूको जुलुस व्यक्तिविशेषमाथि लक्षित हैन, व्यवस्थामाथि भएको, संविधानमाथि भएको कूका विरुद्ध छ । लोकतन्त्रमा कानुन जनपक्षीय हुनुपर्छ । तर वर्तमान सरकार ऐन–कानुन आफूअनुकूल बनाएर, सबै संवैधानिक निकायमा गैरसंवैधानिक प्रक्रियाबाट आफ्ना मान्छे भर्ती गरेर एकाधिकारवादी र तानाशाह बन्ने पथमा छ । विरोध त्यसैले गरिरहेका छन्, नागरिक अगुवाहरू ।

तर समाज बाँडिएको छ । देशको संविधानमाथि नै कुल्चिएर भएका निर्णयका विरुद्ध सडकमा उभिएका अभियन्तालाई साथ दिन किन कन्जुस्याइँ ? किन छैनन् सडकमा सांस्कृतिक अभियन्ताहरू, भाषिक अभियन्ताहरू, दलित अभियन्ताहरू, जनजाति अगुवाहरू, शिक्षकहरू, प्राध्यापकहरू, चिकित्सकहरू... ? देशको मूल कानुनमाथि भएको खेलबाडको विरोध सबैतिरबाट भए मात्रै सत्ताको मात लागेकाहरू तह लाग्छन् । नत्र हाम्रो मौनता र फुटले जन्माउने भनेको अर्को तानाशाह हो । जसलाई कवि केसीले भनेजस्तै झेल्न सक्दिनँ म ।

प्रकाशित : माघ २७, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?