काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेर चुनावी तयारीबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली मंगलबार आयोग पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका हुन् ।
प्रेस सल्लाहकार थापाका अनुसार निर्वाचनको तयारीबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीलाई निरन्तर अगाडि बढाउन सुझाव दिएका थिए ।
यस्तै, नेकपाको आधिकारिकताको विवादबारे पनि आयोगले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको प्रेस सल्लाहकार थापाले बताए । प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि निर्वाचन आयोग पुगेका थिए ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै घोषित मितिमा दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा वैशाख १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले कान्तिपुरसँग बताएकी छिन् ।
