वाग्मती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव लम्ब्याइँदै 

सभामुखको भूमिकाप्रति दलहरु आक्रोशित

माघ २०, २०७७

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफलका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अचानक स्थगित गरेर सभामुख सानुकुमार श्रेष्ठले यस विषयलाई लम्ब्याएका छन् ।

अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश गराउन सुरुबाटै आनाकानी गरेका सभामुख श्रेष्ठले सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक आइतबार राति सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए । सोमबारको बैठकमा अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यक्रम थियो ।

प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उपसभामुख, अविश्वास प्रस्तावका प्रस्तावक र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग आन्तरिक छलफलसमेत नगरी बैठक स्थगित गरेपछि सभामुख श्रेष्ठको भूमिकाप्रति दलहरूले आक्रोश पोखेका छन् । उनीहरूले प्रदेशसभालाई सभामुखले बन्धक बनाएको र सरकारबाट प्रभावित भएको आरोप लगाएका छन् । 

सभामुखको भूमिकालाई प्रदेशसभा सदस्य तथा नेकपा दाहाल–नेपाल समूहकी संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले ‘अल्पमतको सरकारको लाचार छाया’ का रूपमा टिप्पणी गरिन् । नेत्री शाक्यले प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा त्यसलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएर बैठक स्थगित गरेको आरोप लगाइन् । सभामुखले छलफलै नगरी मध्यरातमा बैठक स्थगितको सूचना जारी गरेको भन्दै उनले प्रदेशसभा बैठक तत्काल बोलाउन माग गरिन् । ‘सरकार अल्पमतमा छ, यस्तो अवस्थामा निरन्तर बैठक सञ्चालन गर्नुपर्ने हुन्छ, संसदीय मूल्य मान्यता, संवैधानिक व्यवस्था र प्रदेशसभा नियमावलीको घोर उल्लंघन सभामुखबाट भयो,’ उनले भनिन् । विशेष कारण नखुलाई स्थगन गरिएको प्रदेशसभा बैठक अविलम्ब सुरु गर्न उनले माग गरिन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि सदन स्थगितको विरोध गरेको छ । कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले पटक/पटक संसद् बैठक स्थगित गरेर अविश्वास प्रस्तावलाई अनिर्णयको बन्दी बनाएको भन्दै सभामुख श्रेष्ठको आलोचना गरेका छन् । ‘बिनाकारण सदन अवरुद्ध हुनु संसदीय प्रणाली र सिद्धान्तविपरीत छ, तत्काल बैठक आह्वान गरेर मत विभाजन प्रक्रिया अगाडि बढाउन जरुरी छ,’ उनले भने । उनले कांग्रेसले सदन सञ्चालनका लागि अविश्वास प्रस्ताव दर्ता भएदेखि नै प्रयास गरिरहेको दाबी गरे । 

विवेकशील साझाका सांसद रमेश पौड्यालले एक्कासि बैठक स्थगित गरेर सभामुखले अल्पमतमा रहेको सरकारलाई सहयोग पुर्‍याएको आरोप लगाए । प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा त्यसलाई टुंग्याउनुपर्ने जिम्मेवारीबाट सभामुख पन्छिएको र सरकारबाट प्रभावित भएको आरोप लगाए । ‘प्रदेशसभाको मुख्य विषय अविश्वास प्रस्ताव हो, यो विषयमा निरन्तर छलफल हुनुपर्थ्यो, सर्वदलीय बैठकमा प्रस्ताव फेस गर्न आफू तयार रहेको मुख्यमन्त्रीबाट अभिव्यक्ति आइरहेकै छ,’ उनले भने ।

प्रदेशसभा बैठक तत्काल बोलाउन माग गर्दै प्रदेशसभा परिसरमा नाराबाजी भएको छ । सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ सम्म बैठक स्थगित गरेपछि दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यहरूले नाराबाजी गरेका हुन् । दाहाल–नेपाल समूहबाट मुख्यमन्त्रीका रूपमा प्रस्तावित नेत्री शाक्य, उपनेता शालिकराम जम्कट्टेल, पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाललगायतको नेतृत्वमा प्रदेशसभा परिसरमा नाराबाजी भएको हो ।

जम्कट्टेलले लामो समयदेखि अल्पमतमा रहेको सरकारविरुद्ध प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई एउटै कित्तामा उभिन आह्वान गरे । ‘सभामुखको स्वेच्छाचारिताको विरोध गर्न र संसदीय मूल्य मान्यता र मर्यादाको पक्षमा उभिनुपर्ने समय आएको छ,’ उनले भने । दाहाल–नेपाल पक्षका सांसदले मुख्यमन्त्री पौडेलको राजीनामा माग गरेका छन् । प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा मुख्यमन्त्री पौडेल अल्पमतमा रहेको प्रमाणित भइसकेकाले तत्काल नैतिकताका आधारमा राजीनामा दिन उनीहरूले माग गरेका हुन् ।

संसद् विघटननेकपा विवाद

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully