इजलासलाई वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्‍न-' श्रीमान्, न्याय क्षेत्रको सबैभन्दा ठूलो मान्छेलाई नटुवा भन्दिने ?'

काठमाडौँ — वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर दिएको अभिव्यक्तिबारे संवैधानिक इजलासमा कुरा उठाएका छन् । 

इजलासलाई वरिष्ठ अधिवक्ता भण्डारीको प्रश्‍न-' श्रीमान्, न्याय क्षेत्रको सबैभन्दा ठूलो मान्छेलाई नटुवा भन्दिने ?'

प्रतिनिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको सुनुवाइका क्रममा सोमबार वरिष्ठ अधिवक्ता भण्डारीबारे ओलीले दिएको अभिव्यक्ति इजलासमा उठेको हो ।

संवैधानिक इजलासमा सोमबारको बहस सकिएपछि वरिष्ठ अधिवक्ता भण्डारीले न्याय क्षेत्रको ज्येष्ठ व्यक्तिविरुद्ध प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका थिए । 'न्यायको सम्मान गर्ने मान्छे हुँ । न्याय क्षेत्रको सबैभन्दा जेठो मान्छेलाई नटुवा भन्न पाइन्छ श्रीमान् ?,' उनले भने ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने उक्त विषयमा छलफल गर्न नसकिने बताए । उनले उक्त विषय इजलासमा प्रवेश गरेमा फेरि प्रधानमन्त्रीको पक्षबाट पनि निवेदन आउने भएकाले समय लिने बताए । उनले अहिले उक्त विषयमा केही भन्न नहुने सुझाएका थिए । 'समय मिल्यो भने गरौंला नि है,' जबराले भनेका थिए । अन्य कानुन व्यवसायीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर रूपमा लिनुपर्ने भन्दै इजलाससमक्ष उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नभई न्याय क्षेत्रको अपहेलना गरेको भण्डारीले बताए । उनले न्याय क्षेत्रमा लामो समय रहेको ९४ वर्षीय आफूबारे प्रधानमन्त्रीले भनेका कुराले सर्वोच्च अदालत, प्रधानन्यायाधीश र न्यायाधीश तथा कानुन व्यवसायीहरूको अपमान भएको धारणा राखे ।

वरिष्ठ अधिवक्ता भण्डारी प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीकोतर्फबाट बहस गर्न वकालतनामा भरेका छन् । गुरुङलगायतको पक्षबाट प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने माग भण्डारीले गरेका छन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसका क्रममा भारतका वरिष्ठ अधिवक्ता राम जेठमलानीसँग भण्डारीको तुलना गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सही नभएको बताए । उनले भने, 'रामजेठमलानी उपस्थित हुँदा थरथर हुन्थे भारतमा तर कृष्णप्रसाद भण्डारी उपस्थित हुँदा ठट्टा हुने ? कानुन व्यवसायीले तास फिटेको जस्तो हुने ? तमासा हुने ?'

वरिष्ठ अधिवक्ता भण्डारी आफ्ना गुरुको पनि गुरु भएको भन्दै कार्यकारी प्रमुखले कानुन व्यवसायीको अपमान हुने गरी अभिव्यक्ति दिन नहुने धारणा वरिष्ठ अधिवक्ता थापाको भनाइ थियो ।

प्रधानमन्त्रीले माघ ९ गते एक कार्यक्रममा कानुन व्यवसायी र वरिष्ठ अधिवक्ता भण्डारीविरुद्ध अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै नेपाल बारलगायतले विरोध जनाउनुका साथै सर्वोच्च अदालतमा निवेदन पनि पेस गरेका छन् ।

प्रकाशित : माघ १२, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?