निर्वाचन आयोगको निर्णय सकारात्मक : उपप्रधानमन्त्री पोखरेल

माघ १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — उपप्रधानमन्त्री एवं नेकपाको ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानुनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताए । 

सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) वाग्मती प्रदेश संगठन कमिटीको आयोजनामा माघ २३ गते काठमाडौंमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेल आफूहरुले पार्टीबाट कसैलाई निस्कासन नगरेको भन्दै उनले कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने बताए । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाइ छ ।

संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको उनले बताए । जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्दमा आयोजना गरिएको उपप्रधानमन्त्री पोखेरलको भनाइ छ । संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको पनि पोखरेलले बताए ।

उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्तिक २८ गते अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने बताए ।

कान्तिपुर

Link copied successfully