दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

माघ १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढी र २८ गते काठमाडौंमा प्रदर्शन

माघ १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार  पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज नभएसम्म आन्दोलन जारी रहने जानकारी दिइएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका लागि बनाइएको पार्टी संघर्ष समितिले माघ १३ देखि २८ सम्मका कार्यक्रम सार्वजनिक गरेको छ । 

संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ गतेदेखि २१ सम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, विघटित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यसहित धर्ना कार्यक्रम, माघ १६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेका छन् ।

यस्तै माघ १५ गते बुटवल, माघ १६ गते विराटनगर र माघ १७ गते धनगढीमा विरोध प्रदर्शन र सभाको कार्यक्रम घोषणा गरिएको छ । त्यस्तै दाहाल-नेपाल नेतृत्वको नेकपाले माघ २८ गते काठमाडौंमा पुन: प्रदर्शन गर्ने भएको छ । यस पटकको प्रदर्शन गत माघ ९ गतेको भन्दा ठूलो हुने दाबी पार्टीले गरेको छ । 


संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully