२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा माफी माग्न नेपाल बारको माग

काठमाडौँ — नेपाल बार एसोसिएसनले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई  लक्षित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । 

प्रधानमन्त्रीलाई सार्वजनिक रूपमा माफी माग्न नेपाल बारको माग

आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बारले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कानुन व्यवसायीहरुको अपमान भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले माघ ९ गते आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरूप्रति लक्षित गरेर अभिव्यक्ति दिएका थिए । उनले वरिष्ठ अधिवक्ता भण्डारीप्रति लक्षित गरेर अपमानजनक भनाइ राखेको नेपाल बारको धारणा छ ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाबारे भइरहेकव सुनुवायलाई लक्षित गरेर ओलीले भनेका थिए, 'वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरूले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न ।'

प्रधानमन्त्री ओलीको उक्त भनाइलाई नेपाल बारले अपमानजनक भनेको छ । उक्त अभिव्यक्ति 'संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल छैन । साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायी कै विरुद्ध मात्र नभएर अदालतकै मानहानी/अवहेलनाजन्य हो,' विज्ञप्तिमा भनिएको छ ।

'प्रधानमन्त्रीज्यूको उक्त अमर्यादित, अपमानजनक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसन गम्भीर आपत्ति र खेद व्यक्त गर्दछ,' नेपाल बारले भनेको छ, 'उक्त अभिव्यक्तिप्रति तत्काल सार्वजनिक रूपमा माफी माग्नसमेत सम्माननीय प्रधानमन्त्रीज्यूसँग जोडदार माग गर्दछौं । आइन्दा यस किसिमका अभिव्यक्तिहरू नदोहोर्‍याउन र दोहोर्‍याएमा नेपाल बार एसोसिएसनले सशक्त विरोधका कार्यक्रमहरू गर्न बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौं ।'

ओलीको अभिव्यक्तिलाई लिएर नेपाल बारका चार पूर्वअध्यक्षहरूले पनि आइतबार नै विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् ।


प्रकाशित : माघ ११, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?