कोभिसिल्ड खोपको ‘साइड इफेक्ट सामान्य मात्रै’

अतुल मिश्र

काठमाडौँ — नेपालमा आगामी सातादेखि लगाइने कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको साइड इफेक्ट (दुष्प्रभाव) भारतमा जस्तै सामान्य देखिने अनुमान विशेषज्ञहरूले गरेका छन् ।

कोभिसिल्ड खोपको ‘साइड इफेक्ट सामान्य मात्रै’

भारतीय र नेपालीको जीवनशैली करिब मिल्ने भएकाले कोभिसिल्डको साइड इफेक्ट उस्तै हुन सक्ने उनीहरूको भनाइ छ । खोपका कारण साइड इफेक्ट देखिए निःशुल्क उपचार गर्ने सरकारले बताइसकेको छ ।

‘यो नयाँ खोप भएकाले कौतुहल हुनु स्वाभाविक हो,’ खोप लगाएपछि अनपेक्षित घटना अर्थात् एडभर्स इफेक्ट फलोइङ इम्युनाइजेसन (एईएफआई) समितिका अध्यक्ष डा. धनराज अर्यालले भने, ‘यसको भारतमा जे जस्तो साइड इफेक्ट देखिएको छ, यहाँ पनि त्यस्तै हुने अनुमान गरेका छौं ।’

भारतमा कोभिसिल्ड खोपको सामान्य साइड इफेक्ट देखिएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ शनिबारसम्म १३ लाख ९० हजार ५ सय ९२ जनाले कोभिडविरुद्धको खोप लगाइसकेका छन् ।

शनिबार मात्र ३ लाख ४७ हजार ५८ जनालाई खोप दिइएको छ । भारतमा कोभिसिल्ड र कोभ्याक्सिन खोप दिने अभियान जारी छ । त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार कोरोना खोप लगाएको ठाउँमा सामान्य दुखाइ हुनु, सामान्य टाउको दुख्नु, थकाइ लाग्नु, मांसपेशी बाउँडिनु, कमजोर महसुस हुनु, ज्वरो आउनु, चिसो लाग्नु, जोर्नी दुखाइ, वाक्वाकी लाग्नु जस्ता अनुभव हुन सक्छन् । खोप लगाएपछिको साइड इफेक्टको लाक्षणिक उपचारअन्तर्गत पारासिटामोल दिन सकिने मन्त्रालयको भनाइ छ ।

इन्ट्रामस्कुलस (मांसपेशीमा दिइने) जस्तै यो खोपलाई ‘थ्रम्बोसाइटोपनिया’ भएका व्यक्तिलाई सावधानीका साथ दिनुपर्छ । थ्रम्बोसाइटोपेनियामा रगतमा असामान्य रूपले निम्नस्तरमा प्लेटेलेटस हुन्छ । भारतका स्वास्थ्य मन्त्रालयका केन्द्रीय सचिव राजेश भूषणका अनुसार गत बिहीबारसम्म कोभिसिल्ड खोप लिएकामध्ये ०.१८ प्रतिशतलाई सामान्य प्रतिकूल असर देखिएको छ ।

डा. अर्यालले कुनै पनि खोप लगाएपछि सामान्य समस्या देखिन सक्ने बताए । उनले भने ‘खोपलाई सुरक्षित राख्न यसमा थुप्रै कुरा मिसाइन्छ, यसैले रियाक्सन हुन सक्छ । खोप लगाएको भाग सुन्निने, सामान्य ज्वरो आउने, एलर्जी हुने, बिमिरा आउने हुन सक्छ ।’

प्रकाशित : माघ १२, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?