कुर्सी हल्लिन थालेपछि ओलीले प्रतिनिधिसभा विघटन गरे : डा. केसी- समाचार - कान्तिपुर समाचार

कुर्सी हल्लिन थालेपछि ओलीले प्रतिनिधिसभा विघटन गरे : डा. केसी

‘ओलीले आफूलाई मानव ठान्दैनन्, देवता नै ठान्छन् ।’ 
इकान्तिपुर डेस्क

काठमाडौँ — नागरिक अभियन्ता डा. गोविन्द केसीले सबै संवैधानिक अंगहरु नागरिकको सेवाका लागि हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार माइतीघरमा बृहत् नागरिक आन्दलोलनका क्रममा सम्बोधन गर्दै डा. केसीले जनतालाई रैती बनाउने काम संवैधानिक अंगले गर्न नहुने बताएका हुन् ।

शनिबार माइतीघरमा प्रदर्शनका क्रममा सम्बोधन गर्दै डाक्टर गोविन्द केसी तस्बिर केशव थापा/कान्तिपुर

‘संवैधानिक अंगहरु जनताको सेवा गर्नका लागि बनाइएको हो । जनतालाई रैती बनाउनका लागि होइन, जनताका अधिकार खोस्नलाई होइन,’ डा. केसीले भने । उनले संवैधानिक अंगहरु शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्ने पनि बताए । त्यस्तै केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अपराध, दलाली, धाँधली गरेको र गर्नेहरुलाई पनि संरक्षण दिएको आरोप लगाएका छन् ।

डा. केसीले संवैधानिक व्यवस्थाविपरीत प्रतिनिधिसभा विघटन गरेको पनि बताए । केसीले भने, ‘आफ्नो कुर्सी हल्लिन थालिसकेपछि ओलीले संसद् नै भंग गरिदिए । उनले एउटा संवैधानिक अगंलाई भंग नै गरिदिए ।’

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको र न्यायालय जनताको निगरानीमा रहेको केसीले बताए । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पनि केसीले बताए । केसीले अगाडि भने, ‘ओलीले सबै काम आफू संविधानभन्दा माथि रहेको ठानेर काम गरिरहेका छन् । उनले आफूलाई मानव पनि ठान्दैनन्, देवता नै ठान्छन् ।’

संसद् नै विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम न्यायालयको भएको पनि डा. केसीले बताए । जनताको आशाको केन्द्र न्यायालय भएको र अहिले न्यायालय अग्निपरीक्षामा रहेको पनि केसीको भनाइ थियो । नेताहरुले जनमतलाई कुल्चिएको उल्लेख गर्दै केसीले भने, ‘दुई तिहाई मतसहितको सरकार बनाएपछि जनताका लागि काम गर्छन् र मुलुकमा स्थायित्व कायम हुन्छ भन्ने विश्वास थियो ।’ जनताको आशाविपरीत प्रधानमन्त्री ओलीले तानशाही प्रवृत्ति देखाएको पनि केसीले आरोप लगाए ।

प्रकाशित : माघ ३, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : केशव थापा

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडाैंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो । कार्यक्रममा बाेल्दै डा‌‍. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेकाे र उसले संविधानको रक्षा गर्नुपर्ने बताए । प्रदर्शनकारीहरुले 'प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।', 'संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।', दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।' लगायतका नारा लेखिएका प्लेकार्डहरु बाेकेर प्रदर्शन गरेका थिए ।


प्रकाशित : माघ ३, २०७७ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×