कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोभिड-१९ खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान

लक्षित समूहहरुलाई नि:शुल्क खोप उपलब्ध गराउने सूचनामा उल्लेख

काठमाडौँ — सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप नि:शुल्क दिने घोषणा गरेको सरकारले बुधबार सार्वजनिक सूचना जारी गरी आर्थिक सहयोग माग गरेको छ । सूचनाको भाषाले भने सरकारले लक्षित समूहहरुलाई मात्र नि:शुल्क खोप दिने अभिप्राय रहेको सन्देश दिन्छ । यद्यपि सूचनामा लक्षित समूहका बारे थप स्पष्ट पारिएको छैन ।

कोभिड-१९ खोप खरिदका लागि आर्थिक सहयोग गर्न सरकारको आह्‍वान

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने सरकारले खोप लगाउन मिल्ने ७२ प्रतिशत जनसंख्यालाई लक्षित समूह भनेर मन्त्रिपरिषदबाट नै प्रस्ताव पास गरेको दाबी गरे । 'सूचनाको भाषाले केही शंका उब्जाएको होला । तर त्यहँ भनिएको लक्षित समूह भनेको ७२ प्रतिशत जनसंख्या नै हो । त्यसमा ढुक्क भए हुन्छ,' उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचनामार्फत दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्था एवं फिल्यान्थ्रोपिक एसोसियसनलाई खोप कोषमा योगदान गर्नका आह्वान गरेको हो । गोरखापत्रमा प्रकाशित सूचनामा मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगको लागि स्वीकृति प्राप्त भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत लक्षित समूहहरुलाई नि:शुल्क खोप उपलब्ध गराउन ठुलो रकम आवश्यक भएको उल्लेख छ ।

सरकारले यसअघि पनि कोरोना संक्रमण भएको पत्ता लगाउन गरिने पीसीआर परीक्षण सबैलाई नि:शुल्क हुने बताए पनि केही समयपछि शुल्क निर्धारण गरेको थियो । तर खोप भने सबैलाई नि:शुल्क दिने सरकारले निरन्तर दाबी गरिरहेको छ ।

यस्तै सरकारले कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने पनि बताएको छ ।


प्रकाशित : पुस २९, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?