१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

संक्रमितलाई टिस्यु पेपरदेखि अक्सिमिटरसम्म

होम आइसोलेसनमा रहेकालाई सरकारले स्वास्थ्य सामग्री नि:शुल्क उपलब्ध गराउने
मकर श्रेष्ठ

काठमाडौँ — होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले टिस्यु पेपरदेखि अक्सिमिटरसम्म वितरण गर्ने योजना अघि सारेको छ । मृत्यु हुने संक्रमितमध्ये होम आइसोलेसनमा बसेका बढी भएपछि सरकारले किट वितरण गर्न लागेको हो । 

संक्रमितलाई टिस्यु पेपरदेखि अक्सिमिटरसम्म

स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमिलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री प्रदान गर्न लागेको हो । मन्त्रालयले विकास साझेदारहरूको सहकार्यमा केही पालिकामा हेल्थ आइसोलेसन किट वितरण गरेकामा नतिजा राम्रो पाइएको भन्दै उच्च जोखिम भएका समूहलाई सबै पालिकामार्फत वितरण गर्ने नीति लिएको हो ।

निर्देशिकाअनुसार होम आइसोलेसनमा बसेकाले मेडिकल मास्क ८४ वटा पाउनेछन् । संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा दैनिक तीनवटाका दरले ४२ वटा र संक्रमितको हेरचाह गर्ने व्यक्तिलाई ४२ वटा मास्क दिन लागिएको हो ।

त्यस्तै सेनिटाइजर २ सय ५० एमएलको एक बोतल, थर्मोमिटर र ब्याट्री एक सेट, पल्स अक्सिमिटर र ब्याट्री पनि दिन लागिएको छ । थर्मोर्मिटर र अक्सिमिटर भने आइसोलेसनको समय सकिएपछि सफा गरेर स्थानीय स्वास्थ्य संस्था वा तोकिएको स्वास्थ्यकर्मीलाई फिर्ता गर्नुपर्ने हुन्छ । प्यारासिटामोल ४२ चक्की, टिस्यु पेपर एक बट्टा, पन्जा एक प्याकेटसमेत पाउनेछन् । यी सामानबाहेक संक्रमितले आफ्नो स्वास्थ्य अवस्था आफैं मूल्यांकन गरेर दिनमा दुईपटक भर्नुपर्ने फाराम, संक्रमण रोकथाम तथा नियन्त्रण पर्चा र अस्पताल कुन अवस्था भएमा जाने भन्ने पर्चासमेत दिने मन्त्रालयले जनाएको छ ।

आइसोलेसन किट होम आइसोलेसनमा बस्ने सबैलाई वितरण गर्न लागिएको भने होइन । संक्रमण भएपछि जोखिममा पर्ने समूहलाई मात्रै किट वितरण गर्न लागिएको श्रेष्ठले बताए । निर्देशिकाअनुसार गर्भवती महिला, ६० वर्षमाथिका व्यक्तिहरू, मधुमेह, मुटुरोग, क्यान्सर, मिर्गौला, कलेजोसम्बन्धी समस्या, क्यान्सर प्रभावित व्यक्तिलाई यस्तो किट उपलब्ध गराउन लागिएको छ । होम आइसोलेसनमा बस्नेको संख्या सक्रिय संक्रमितको सरदर ७० प्रतिशत छ । मन्त्रालयका अनुसार बिहीबार १६ हजार ७ सय ९३ सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ अर्थात् ६२.९७ प्रतिशत घरमै आइसोलेसनमा बसेका छन् ।

दसैंअघि होम आइसोलेसनमा बस्ने कुल संक्रमितको ८० प्रतिशतभन्दा बढी थिए । ‘विगतमा केही संख्या होम आइसोलेसनमा मृत्यु भएको समेत देखिएकाले घरमा बस्ने व्यक्तिको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने देखिन्छ,’ मन्त्रालयले जारी गरेको निर्देशिकामा भनिएको छ, ‘यस किटमा आफ्नो स्वास्थ्य अवस्थाको दैनिक अभिलेख राख्ने व्यवस्थाका साथै अक्सिमिटर पनि हुने भएकाले अक्सिजनको मात्रा घट्न गए तुरुन्तै नजिकको कोभिड अस्पतालमा लैजान उत्प्रेरित हुन गई मृत्युदरमा समेत कमी आउने देखिन्छ ।’

आइसोलेसन किट उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ । स्थानीय तहमा कार्यरत विकास साझेदारका साथै सम्भाव्य अन्य स्रोत तथा सहयोगसमेत जुटाई किट वितरण गर्ने मन्त्रालयले जनाएको छ । ‘अहिले पनि होम आइसोलेसनमा बस्नेलाई केही स्थानीय तहले पैसा र केहीले किट नै उपलब्ध गराइरहेका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले भने, ‘अब सबै स्थानीय तहले होम आइसोलेसन बसेकालाई एउटैखाले किट दिने व्यवस्था गर्न मार्गनिर्देशिका जारी गरिएको हो ।’ स्थानीय तहलाई सहयोग गर्न दाताहरूलाई पत्राचारसमेत गरिसकेको उनले बताए । मन्त्रालयले युनिसेफ, डब्लूएचओ, जर्मन सरकार, विश्व बैंकलगायतलाई सहयोगको आग्रह गरेको हो । ‘दाताहरू सकारात्मक नै छन्,’ उनले भने ।

होम आइसोलेसनमा बस्नेको निगरानीसमेत नभएको अवस्थामा सरकारले यो योजना अघि सारेको हो । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार संक्रमित घरमै बसेमा स्थानीय तहले निगरानी गर्नुपर्छ तर स्थानीय तहले पोजिटिभ भएको जानकारी दिनेबाहेक अन्य कुनै पनि सहयोग नगरेको संक्रमितको गुनासो छ । निर्देशिकामा होम आइसोलेसनमा बस्नेलाई स्वास्थ्यकर्मीले फोन, म्यासेज वा प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने व्यवस्था छ । यसरी संक्रमितको निगरानी गर्ने स्वास्थ्यकर्मीलाई भत्ता दिने व्यवस्था गरिएको भए पनि कार्यान्वयन हुन सकेको छैन ।

निगरानी नहुँदा कतिपय संक्रमित नियमित काममा खटिने गरेका छन् । होम आइसोलेसनमा बसेकाहरूले १४ दिनसम्म घरमा नबसी हिँडडुल गर्नु नै काठमाडौं उपत्यकामा संक्रमण बढ्नुको प्रमुख कारण भएको मन्त्रालयको ठहर छ । त्यसैले होम आइसोलेसनमा बस्नेको निगरानी गर्न टोलटोलमा निगरानी समूह गठन गर्ने मार्गनिर्देशनसमेत जारी भइसकेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?