कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सुदूरपश्‍चिम प्रदेशमा जटिल संक्रमित बढे

मोहन बुढाऐर

काठमाडौँ — सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई महिनायता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । कुल मृतक ३६ मध्ये ३० जनाको मृत्यु असोज र कात्तिकमा मात्रै भएको हो । मंसिर पहिलो सातामा ३ जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्‍चिम प्रदेशमा जटिल संक्रमित बढे

सुदूरपश्चिमको कोभिड रिफर अस्पतालको रूपमा रहेको धनगढीको सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले कात्तिकदेखि अस्पतालको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने बिरामीको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार अस्पतालमा ४८ आइसोलेसन बेड रहेका छन् । जटिल अवस्थाका संक्रमितका लागि आईसीयू बेड १५ र भेन्टिलेटर १० वटा मात्रै छन् ।

बिरामीको संख्या बढ्दै गएमा आइसोलेसन बेडसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुने श्रेष्ठले बताए । अस्पतालका कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक टिमका प्रमुख डा. शेरसिह कमरले संक्रमितको संख्यामा वृद्धिसँगै जटिल प्रकारका बिरामी बढेको बताए । ‘बालबच्चा, बूढापाका र दीर्घरोगीमा जटिल खालको कोरोना संक्रमण बढी छ,’ उनले भने, ‘दीर्घरोगी र ६० वर्ष माथिकामा मृत्यु दर पनि बढेको देखिन्छ ।’ युवा उमेर समूहका संक्रमित बिरामीलाई पनि एक्कासि श्वासप्रश्वासमा समस्या देखिन थालेको उनले बताए ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायका अनुसार भदौपछि धनगढीमा ट्राभल हिस्ट्री नभएका संक्रमितको संख्या बढेको छ । धनगढीमा हालसम्म ११ जनाको मृत्यु भएको छ । भदौअघि एक जनाको मात्रै मृत्यु भएको थियो । सुदूरपश्चिममा हटपस्टको रूपमा धनगढी उपमहानगरपालिका देखिएको छ । यहाँ १ हजार ८ सय ६० जनालाई कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले संक्रमितको कुल संख्याको प्रतिशतमा मृत्यु दर त्यति डरलाग्दो नबढे पनि पछिल्लो समय सातामा २/३ जनाको मृत्युले अवस्था डरलाग्दो बन्दै गएको बताए । ‘चिसो पनि बढेको छ,’ उनले भने, ‘वृद्ध अवस्थामा पुगेकाहरूका लागि कोरोना काल हुन सक्छ ।’ निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर १ लाख १५ हजार ९ सय १८ जनाको पीसीआर परीक्षण भएको छ । जसमध्ये १० हजार ७ सय ३१ जनामा कोराना पुष्टि भएको छ ।

सबैभन्दा धेरै कैलालीमा ४ हजार ५ सय ९ जना संक्रमित छन्, जसमध्ये १९ जनाको मृत्यु भएको छ । सुदूरपश्चिममा सबैभन्दा बढी २० देखि २९ वर्ष समूहमा संक्रमण देखिएको छ । उक्त उमेर समूहमा ४ हजार २ सय २६ जना संक्रमित छन् । त्यसपछि ३० देखि ३९ वर्षमुनिका २ हजार ५ सय ७१ जना संक्रमित छन् ।

४० देखि ४९ वर्षसम्मका १ हजार १ सय ३३, ५९ वर्षमुनिका ५ सय ३९ जना संक्रमित छन् । ६० र ७० वर्षबीचका २ सय २४ जना संक्रमित भएका छन् । ७० वर्षमाथि ९९ वर्षसम्मका १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु बढी हुनेमा ६० वर्षभन्दा माथिका धेरै छन् । १० देखि १९ वर्षमुनिका १ हजार ८३ र १० वर्षमुनिका ७ सय २६ जना संक्रमित भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७७ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?