काठमाडौं महानगरको स्वाब संकलन मोबाइल भ्यान सञ्चालनमा

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आइतबारबाट स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरको स्वाब संकलन मोबाइल भ्यान सञ्चालनमा

महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले पोजिटिभ एअर प्रेसर मेन्टेन कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा नाष्टका सचिव महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरेका हुन् । कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरेको मेयर शाक्यले बताए ।

नाष्टको समृद्धिका लागि नव प्रवर्तन केन्द्र(सीआईपी)ले बाट डिजाइन तथा परीक्षण गरी मोबाइल स्वाब कलेक्सन निर्माण गरिए हो । ‘यो भ्यानमार्फत अशक्त, अपांगता भएका, दीर्घ रोगी र जेष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्कन सक्दैनन्, त्यस्ता व्यक्तिका लागि बढी प्रभावकारी हुनेछ,’ नाष्टका सचिव अधिकारीले भने ।

यो भ्यान सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले सञ्चालन गर्नेछ । सवारीमा जडान भएको कक्षमा बसेर १ पटकमा २ जनाको स्वाब लिन सकिनेछ । हरेकको स्वाब लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्बाव लिइएको ठाउँ स्वचालित रुपमा निसंक्रमण हुनेछ ।

नाष्टका वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले भने, ‘यसमा जसको स्वाब लिइएको छ । उसैले भीटीएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पीपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो ।'

नाष्टले यसअघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरी,सशस्त्र प्रहरी, स्वास्थ्य विभागलगायतका संघ संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेको ढकालले बताए ।

प्रकाशित : मंसिर ७, २०७७ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?