सोरुमा पठनपाठन सुरु गर्ने तयारी, शिक्षकलाई विद्यालय पुग्‍न निर्देशन

मंसिर ६, २०७७

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाले आइतबारसम्म अनिवार्य रुपमा विद्यालयमा हाजिर हुन शिक्षकहरुलाई निर्देशन दिएको छ । कोरोनाको कारण चैतदेखि बन्द रहेका विद्यालय खोल्ने निर्णय गर्दै शिक्षकहरुलाई यस्तो निर्देशन दिइएको हो ।

गाउँपालिकामा करिब २ सय २० जना शिक्षक रहेका छन् । सबै शिक्षकलाई आइतबारसम्म हाजिर हुन निर्देशन दिइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले बताए ।

उनका अनुसार गाउँपालिकामा रहेका ५२ वटै विद्यालयका शिक्षकलाई विद्यालयमा हाजिर भएर सुरक्षा सावधानी अपनाउँदै पठनपाठनको लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । ‘कुन दिनदेखि पठनपाठन सुरु गर्ने  भन्नेबारे कार्यपालिकाले निर्णय गर्नेछ,’ उनले भने, ‘तर हामीले बाहिर रहेका शिक्षकलाई तयारी अवस्थामा रहनको लागि यस्तो सूचना गरेका हौं ।’

यहाँको मुगुमकार्मारोङ गाउँपालिकाभित्र रहेका १८ वटा विद्यालय दसैंअगाडि नै खुलिसकेका छन् । ती विद्यालयले एक महिनासम्म पठनपाठन गरे पनि जोखिम बढ्ने भन्दै स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ । छायाँनागरारा नगरपालिका र खत्याड गाउँपालिकाभित्रका विद्यालय भने चैतदेखि बन्द रहेका छन् । छायाँनाथरारा नगरपालिकाले भदौदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन भने गर्न सकेको छैन । शिक्षकहरु विद्यालयमा गएर हाजिर लगाएर फर्किने गरेका छन् ।

मुगुमा करिब १६ हजार विद्यार्थी रहेका छन् । पठनपाठन ठप्प हुँदा शैक्षिक क्यालेन्डर नै प्रभावित हुने अवस्था देखिएको सर्वोदय माध्यमिक विद्यालय सुकाढिकका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । प्रमुख जिल्ला अधिकारी कृष्णकु्मार निरौला भने जोखिमको समयमा विद्यालय सञ्चालन गरिए त्यसको जिम्मेवारी स्वयं स्थानीय तहले लिनुपर्ने बताउँछन् ।

कोरोना भाइरस

राजबहादुर

Link copied successfully