पीसीआर रिपोर्टमै शंका- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीआर रिपोर्टमै शंका

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ नेगेटिभ रिपोर्ट लिएर विदेश गएकाहरूमा पोजिटिभ देखिने क्रम बढेपछि यहाँको प्रयोगशाला प्रतिवेदन शंकाको घेरामा परेको छ । विदेश उड्ने व्यक्तिको मात्र नभई मुलुकभित्रै पनि पीसीआर परीक्षण गडबड देखिएको विज्ञहरूले बताएका छन् ।

पीसीआर रिपोर्ट नेगेटिभ बोकेर यहाँबाट उडेका यात्रुमा पोजिटिभ देखिएपछि हङकङ विमानस्थलले नेपाल वायुसेवा निगमको विमानलाई उडानमा पटकपटक प्रतिबन्ध लगाएको छ । पछिल्लो पटक हङकङ उडानमा १४ जनामा कोभिड पोजिटिभ देखिएपछि दुई साता लगाइएको प्रतिबन्ध आगामी शुक्रबारसम्म छ । ‘जापान र हङकङ उडानमा पीसीआर रिपोर्टमा बढी समस्या देखियो,’ निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले कान्तिपुरसँग भने, ‘प्रयोगशालाहरू छानबिन गर्न स्वास्थ्य मन्त्रालयमा निवेदनसमेत दिएका छौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त निवेदनबारे थप बुझ्न एउटा समिति बनाइएको बताए । निगमका महाप्रबन्धक पौडेलका अनुसार निजी प्रयोगशालाको रिपोर्ट बढी शंकास्पद देखिएको छ । ‘नेपालमा नेगेटिभ र विदेशमा पोजिटिभ देखिएका सबै रिपोर्ट निजी प्रयोगशालाका हुन्,’ उनले भने, ‘सरकारी प्रयोगशालाको रिपोर्टमा समस्या देखिएको छैन । त्यसैले हाल सरकारीबाटै परीक्षण गराउन भनिएको छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुकी निर्देशक डा. रुना झाले विदेश जानेहरूको पीसीआर परीक्षण प्रतिवेदन यहाँ नेगेटिभ आए पनि बाहिर पोजिटिभ देखिएको गुनासो आएको बताइन् । ‘शंकामा रहेका प्रयोगशालाहरूमाथि छानबिन गर्नुपर्छ,’ उनले भनिन् । उनका अनुसार ‘बोर्डर लाइन केस’, प्रारम्भिक अवस्थाको संक्रमण र निको हुन लागेको अवस्थामा नेगेटिभ–पोजिटिभ आउन सक्छ । प्रयोगशाला, उपयोग गरिने रिएजेन्टपिच्छे रिपोर्टमा अन्तर हुन सक्छ । ‘संकलन गरिएका फरकफरक नमुनामा समेत भाइरसको मात्रा फरक हुँदा नतिजा अर्कै हुन सक्छ । तर धेरै संख्यामा गलत रिपोर्ट नदेखिनुपर्ने हो,’ उनले भनिन् ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले एउटामा पीसीआर गराउँदा पोजिटिभ र अर्कोमा गराउँदा नेगेटिभ देखिने समस्या धेरै रहेको बताए । ‘यसले विदेशमा हाम्रो प्रयोगशालाको बदनामी हुन्छ । विश्वसनीयता गुम्छ,’ उनले भने, ‘व्यक्तिले चाहेका बेला नेगेटिभ रिपोर्ट निकाल्नु गलत हो । आधिकारिक निकायले तुरुन्त छानबिन गरी कडा कारबाही गर्नुपर्छ ।’ एनपीएचएलका एक अधिकारीले बाहिर जाने व्यक्तिहरूसँग २५–३० हजार रुपैयाँ लिएर निजी प्रयोगशालाले पोजिटिभ रिपोर्टलाई नेगेटिभ बनाउने गरेको जानकारीमा आएको सुनाए । ‘तर हामीसँग यथेष्ट प्रमाण नभएकाले कारबाही गर्न सक्ने स्थितिमा छैनौं,’ उनले भने । एनपीएचएलका अर्का अधिकारीले केही निजी प्रयोगशाला प्रस्तावितभन्दा आधा मात्रा मात्र रिएजेन्ट उपयोग गर्दासमेत पीसीआर परीक्षणको नतिजा अविश्वसनीय भएको बताए । केही प्रयोगशालाले २५ वटा परीक्षण गर्न सकिने रिएजेन्टबाट ५० वटा परीक्षण गर्ने गरेको जानकारी आएको उनले बताए ।

एनपीएचएलका पूर्वनिर्देशक डा.राजकुमार महतोले विदेश नजानेले पनि एउटै प्रयोगशालामा कोभिड परीक्षण गराएर ढुक्क हुने अवस्था नरहेको बताए । ‘मेरो अनुभवमा केही पीसीआर परीक्षणको गलत रिपोर्ट आइरहेको छ,’ उनले भने, ‘एउटै व्यक्तिमा एकै समय विभिन्न प्रयोगशालाबाट फरकफरक रिपोर्ट आउनुका पछाडि किटको गुणस्तरसमेत जिम्मेवार हुन्छ । किटको भ्यालिडेसन गरेर मात्र परीक्षण सुरु गर्नुपर्ने हो तर यो गरिँदैन ।’

पीसीआर रिपोर्ट पोजिटिभ देखिएकाहरूको सूची इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जाने गर्छ । त्यही सूची एयरपोर्टमा समेत पठाउनुपर्ने जनाउँदै वरिष्ठ जनस्वास्थ्यविद् डा. बीसीले भने, ‘पोजिटिभ देखिएकाहरू अर्को प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट निकालेर विदेश उड्न खोजेका छन् भने उनीहरू विमानस्थलमै रोक्न सकिन्छ ।’ उनका अनुसार विदेश जानेहरूले गराउने पीसीआर परीक्षणमा वास्तविक नामलगायत जानकारी हुन्छ । कोभिड–१९ पोजिटिभ देखिएकाहरूको सूची ७२ घण्टाभित्र विमानस्थलमा पठाउँदा गलत जानकारी दिएर उड्न खोज्नेलाई रोक्न सकिन्छ ।

प्रकाशित : मंसिर ६, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

‘दौडिन पाउनुमै छ खुसी’

मधु शाही

बाँके — तीन दिनअघि मात्रै दार्चुलाकी शकुन्तला ठगुन्नाले छैटौं नेपालगन्ज म्याराथन हुने खबर पाइन् । त्यो पनि छिमेकी दिदीले सुनाएकी थिइन् । प्रशिक्षणविना उनी प्रतियोगितामा सहभागी हुन नेपालगन्ज आइपुगेकी छन् । ‘खेल्न नपाएर उदास थिएँ,’ उनले सुनाइन्, ‘जित्नेभन्दा पनि खेल्न पाउनुमै उत्साह बढेको छ ।’

२२ वर्षीया शकुन्तलाले ०६८ मा राष्ट्रिय खेलकुदमा भाग लिएकी थिइन् । धनगढीमा भएको उक्त प्रतियोगितामा १० किलोमिटर दौडमा उनी तेस्रो भएकी थिइन् । त्यसपछि उनको दौडले निरन्तरता पाएन । यसको दोष उनमा छैन । गाउँमा अभ्यास गर्ने खेलस्थलको अभाव र प्रशिक्षणको कमीले गर्दा आफूले खेलमा बिट मार्नुपरेको उनी सुनाउँछिन् । पछि काठमाडौंमा गएर ५ महिना प्रशिक्षण लिइरहेकी थिइन् । तर, कोरोना महामारी बढेसँगै लकडाउनमा घर फर्किएपछि दौडको अभ्यास भएन । उनी भन्छिन्, ‘अलि–अलि सिकेको पनि बिर्सिएँ ।’

खास गरी दुर्गम क्षेत्रमा खेलका लागि आधारभूत पूर्वाधर नहुनु, मैदानको अभाव, प्रशिक्षणको अभावले गर्दा थुप्रै प्रतिभावान खेलाडी खुम्चिएर बस्नुपरेको उनले सुनाइन् ।

गाउँघरमा छोरीले दौडेको देखेर कुरा काट्ने संस्कारदेखि जुम्लाकी १८ वर्षीया मञ्जु रावत दिक्क हुन्छिन् । यस्ता विचारले खेलप्रतिको मनोबल खस्किने हुँदा सदरमुकाम खलंगामा आएर दौडको प्रशिक्षण लिएको उनले सुनाइन् । उनी कीर्तिमानी पूर्व धावक हरिबहादुर रोकायको प्रशिक्षणमा हुर्केकी हुन् । उनी जस्ता थुप्रै खेलाडीलाई रोकायले निःशुल्क प्रशिक्षण दिन्छन् । लामो दौडका बेला हरि गुरुले नै डाइट खुवाउने गरेको मञ्जुले सुनाइन् । उनी भन्छिन्, ‘म आफूलाई भाग्यमानी मान्छु, यस्तो गुरु पाएकामा ।’ कडा प्रशिक्षण भइरहँदा खेल हुने कि नहुने दुविधाले भने उनको मन चिमोटी रहन्थ्यो । झन्डै ८ महिनापछि खेल मैदानमा उत्रिन पाउँदा उनी उत्साही छन् ।

मञ्जु यसअघि नेपालगन्ज म्याराथनमा अल्ट्रातर्फ चौथो भएकी थिइन् । यसपालि भने उनको रोड रेस पहिलो सहभागिता हुनेछ । ‘रोडमा दौडेको अनुभव छैन,’ उनले भनिन्, ‘तराईका ठूला सडकमा कसरी दौड्ने भनेर सिक्न उत्साही छु ।’

उनीसँगै आएका जुम्लाका १९ वर्षे विनोद धिताललाई भने लकडाउन फाइदा नै भयो । काठमाडौंमा कक्षा १२ पढ्दै गरेका उनी कलेज बन्द नभएको भए खेलमा समय दिन पाउँदैन थिए । ९ महिना घरमा बसेर उनी निरन्तर दौडमा अभ्यास गरिरहे । स्कुलस्तरीय प्रतियोगितामा सहभागी हुँदै आए पनि यो उनको पहिलो ठूलो प्रतियोगिता हो ।

त्यस्तै, गोरखाका १८ वर्षे सुजन खड्का कोरोना महामारीपछि फुर्सदिला भए । एसईई सकियो । कलेज खुलेन । उनले बाँकी समयलाई खेलकुदमा लगानी गरे । यो प्रतियोगिता उनका लागि जितभन्दा पनि सिकाइका रूपमा रहेको सुनाए ।

करिब ९ महिनापछि खेलाडी मैदान उत्रन पाउनु आफैंमा उत्सवको पक्ष हो । त्यसैमा जापानमा हुन लागेको टोकियो ओलम्पिकका लागि भाग लिने खेलाडी छनोट हुनेले राष्ट्रियस्तरका उत्कृष्ट धावक पनि खेल्न पाउनुमै उत्साहित छन् । चार वर्षमा एकपल्ट हुने ओलम्पिक खेलाडीको ड्रिम प्रोजेक्ट हो । कतिपयले पूरै जीवन त्यही लक्ष्य प्राप्तिमा लगानी गरेका छन् । एकातिर नेपालगन्ज म्याराथनमा स्थानीय स्तरका खेलाडी खेल्ने उत्साहले खुसी छन् भने अर्कोतर्फ अनुभवी खेलाडी ओलम्पिकमा पुग्ने सपना बोकेर आएका छन् । दक्षिण एसियाली खेलकुदका स्वर्णविजेता गोपीचन्द्र पार्कीले यस वर्षको नेपालगन्ज म्याराथनलाई आफ्नो दस वर्षको लक्ष्य निर्धारण गर्ने इभेन्ट मानेका छन् । ‘यो खेलमा मेरो लागि दौड मात्रै नभई ओलम्पिक जाने बाटो हो,’ उनले भने, ‘यही अवसर पाउन दस वर्ष बिताएको छु ।’

उनी ओलम्पिककै लागि ९ महिनादेखि निरन्तर व्यक्तिगत अभ्यासमा रहे । क्लबले सहयोग गरेकाले खेलमा विश्राम लागेन । तर, अरु स्वतन्त्र खेलाडी लकडाउनले मर्कामा परेको उनले सुनाए । कुनै विभागले सहयोग गरेर खेलाडी हुने नेपालको विडम्बनाजस्तै हो । स्रोतसाधनको अभावमा उदीयमान खेलाडी प्रतिस्पर्धामा आउन नपाउँदा हराउँछन् । उनी भन्छन्, ‘लकडाउनले धेरै प्रतिभाशाली खेलाडी घरमै थन्किन बाध्य भए ।’ यद्यपि ओलम्पिकलक्षित खेलाडी बाह्रै महिना तालिममा हुनुपर्छ । एउटा खेलाडीका लागि यो भन्दा ठूलो सपना केही हुन सक्दैन ।

नेपालगन्ज म्याराथनको चौथो संस्करणमा सेनाका तर्फबाट विजेता भएका नवराज साउद पनि यो वर्षको म्याराथनमा सहभागी हुँदै छन् । यो प्रतियोगिताले उनमा आशा र निराशा दुवै भाव पैदा गरेको छ । ८ महिनाभर कुनै पनि खेलको गतिविधि नहुँदा उनी सडकमा दौडिन पाएनन् । यसले दौडिने बानी खुम्चिँदै गएको उनले सुनाए । एक महिनाअघि मात्रै तयारी गरेका उनले ओलम्पिकसम्म पुग्न यति पर्याप्त नुहने बताउँछन् । ‘यतिका महिना सडकमा कुद्नै पाइएन,’ उनी भन्छन्, ‘त्यही पनि खेल्ने अवसर जुर्यो, यसैमा चित्त बुझाउनुपर्छ ।’

पहिलो संस्करणमा दोस्रो भएका कृष्ण बस्नेत कोरोना कारण खेलमा तीव्रता नहँॅदा सोचेजति सफलता हासिल गर्न मुस्किल हुने बताउँछन् । कामको जिम्मेवारी सगै स्वास्थ्य सुरक्षा अपनाउनुपर्दा खेलको पाटो ओझेल परेको उनले सुनाए । परिस्थितिले गर्दा अहिले जितको कुरा छायाँमा परेको छ । खेलाडीले खेल्न मात्रै पाउनु पनि भाग्यमानी सम्झनुपर्ने उनले सुनाए । ‘खेलमा तयारी जसले राम्रो गर्छ, उसैले जित्ने हो,’ उनी भन्छन्, ‘परिस्थिति जित हासिल गर्ने खालको रहेन, सहभागिता हुनुमै सन्तुष्ट मानेको छु ।’

शुक्रबार प्रतियोगिताका लागि १० महिला र २४ पुरुष खेलाडीले नाम दर्ता गरिसकेका छन् । त्यसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, गत वर्षका विजेता नवराज साउदलगायत उत्कृष्ट खेलाडी सहभागी छन् । बिहान ७ बजे नेपालगन्जको वीपी चोकदेखि सुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः वीपी चोकमा पुगी म्याराथन टुंगिने आयोजक क्रिएटिभ ह्यान्ड्सले जनाएको छ । विजेताले ७५ हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । चौथोदेखि सातौं हुनेसम्मले क्रमशः १०, ८, ७, ६ र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

महिलातर्फ हाफ म्याराथन विजेताले ३० हजार, दोस्रोले १५, तेस्रोले १० हजार रुपैयाँ पाउने छन् र चौथो, पाँचौं, छैटौंले क्रमशः ७, ६ र ५ हजार पुरस्कार राखिएको छ । भीड कम गर्ने उद्देश्यले प्रतियोगिताका अधिकांश इभेन्ट हटाइएको छ । सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै माक्स, सेनिटाइजर प्रयोग गरेर खेलाडी दौडमा सहभागी हुने आयोजक प्रमुख टीएस ठकुरीले सुनाए । ‘स्वास्थ्य सुरक्षामा विशेष ध्यान राख्दै खेल आयोजना गर्नेछौं,’ उनले भने, ‘महिनौं खेल्न नपाएका खेलाडी उत्साही छन् । यही नै प्रतियोगिताको सफलता मान्नुपर्छ ।’

प्रकाशित : मंसिर ६, २०७७ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×