पोखरामा एकै दिन ८ संक्रमितको मृत्यु- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा एकै दिन ८ संक्रमितको मृत्यु

गण्डकीमा कोरोनाबाट सिकिस्तको संख्या बढ्यो, रुपन्देहीमा दिनहुँ सय जनाभन्दा बढी संक्रमित थपिँदै, वित्तीय संस्था, व्यवसाय र सार्वजनिक सवारीको यात्राले थप जोखिम
दीपक परियार, घनश्याम गौतम

पोखरा, बुटवल — कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पोखरा महानगरपालिका–१७ का २९ वर्षीय पुरुष शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । चारवटै हातखुट्टा नचल्ने समस्या रहेका उनी अस्पताल पुग्दा सिकिस्त थिए । कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ देखिएपछि उनलाई अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा राखियो । शुक्रबारै दिउँसो उनको निधन भयो ।

प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २४ घण्टामा ५ कोरोना संक्रमितले ज्यान गुमाए । बिहीबार राति र शुक्रबार पोखरामा ८ संक्रमितको निधन भयो । २४ घण्टामा निधन भएका संक्रमितको संख्या गण्डकी प्रदेशमा हालसम्मकै उच्च हो । पोखराको अस्पतालमा उपचार गराइरहेका कास्कीका ६ र तनहुँका २ संक्रमितले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सिकिस्त भएपछि अस्पताल पुग्नेको संख्या धेरै छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा–९ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति निधन भयो । बिहीबार अस्पताल पुगेर परीक्षण गर्दा कोरोना पुष्टि भएका उनलाई बाइल्याटरल निमोनिया र मधुमेहसमेत थियो । प्रतिष्ठानमै उपचारका क्रममा पोखरा–२१ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषले बिहीबार अस्पताल भर्ना भएकै राति ज्यान गुमाए । बिहीबार नै कोरोना पुष्टि भएका उनलाई पनि निमोनियाले च्यापेको थियो । प्रतिष्ठानमा शुक्रबार पोखरा–१३ का ५५ वर्षीय पुरुष र तनहुँको भीमाद नगरपालिका–५ का ६६ वर्षीय पुरुषको निधन भयो ।

पोखराकै गण्डकी मेडिकल कलेजमा बिहीबार पोखरा–२७ का ७१ वर्षीय पुरुष, शुक्रबार पोखरा–८ का ५४ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको निधन भयो । निधन हुने अधिकांश संक्रमित बाइल्याटरल निमोनिया, मिर्गौला रोग, उच्च रक्तचाप र मधुमेहलगायत समस्याबाट समेत पीडित थिए । गण्डकीमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ सय ३९ पुगेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.बुद्धिसागर लामिछाने दसैंपछि कोरोनाबाट सिकिस्त हुनेको संख्या वृद्धि भएको बताउँछन् । पहिले सामान्य लक्षण देखिए पनि अस्पतालको आइसोलेसनमा बस्ने गरेकामा यतिबेला सिकिस्त बिरामी मात्रै अस्पताल आउने गरेको उनको अनुभव छ । ‘अहिले सिकिस्त भएपछि मात्रै परीक्षण गर्ने गरेको देखिन्छ,’ उनी भन्छन्, ‘अस्पताल पनि सिकिस्त भएपछि मात्रै आउने भएकाले मृत्युदर बढेको देखिएको हो ।’ अस्पतालको आइसोलेसन वार्डमा रहेका ४० मध्ये ३० संक्रमितलाई अक्सिजन प्रयोग गर्नुपरेको उनले सुनाए । ‘परीक्षण बढाउने हो भने संक्रमितको संख्या निकै उच्च नै छ,’ उनले भने, ‘समुदायमा भाइरसको लोड बढ्दै जाँदा संक्रमित सिकिस्त भइरहेका छन् ।’

अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले संक्रमित अन्य निजी अस्पतालमा धेरै दिन बसेपछि अन्तिममा सरकारी अस्पताल आउने भएकाले मृत्यु हुनेको संख्या धेरै देखिएको बताए । ‘निजी अस्पताल महँगो भएको र यहाँ निःशुल्क उपचार हुन्छ भन्ने भएकाले यहाँ आउनेको संख्या धेरै छ,’ उनले भने, ‘मृत्यु हुनेमा दीर्घरोगी नै धेरै छन् ।’ कोभिड अस्पतालमा हालसम्म ५० भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन् ।

शुक्रबार गण्डकी प्रदेशमा १ सय ३९ कोरोना संक्रमित भेटिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल ८६ संक्रमित आईसीयू र १४ जना भेन्टिलेटरमा छन् । प्रदेशभरिका निजी तथा सरकारी अस्पतालमा आईसीयू बेड २ सय ५ र ६२ वटा भेन्टिलेटर छन् । प्रदेशमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १० हजार ८ सय २७ छ । ६ हजार ७४ संक्रमित निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय १४ छ । ३ हजार ४ सय ८ संक्रमित होम आइसोलेसनमा छन् ।

सतर्कता नअपनाउँदा बढ्दै संक्रमण

कोरोना संक्रमितको उपचारमा लुम्बिनी प्रदेशकै केन्द्र बनेको रूपन्देही अहिले लापरबाही र अनियन्त्रित भीडभाडले संक्रमितको पनि केन्द्र बन्दै गएको छ । चार दर्जन बढी बैंक र वित्तीय संस्था रहेको बुटवल, तिलोत्तमा र भैरहवाका अधिकांश वित्तीय संस्थामा दैनिक ५ सय जनासम्मको भीड लाग्ने गरेको छ । भीडमा सामाजिक दूरी र स्वास्थ्य सतर्कता दुवै देखिँदैन ।

बजारमा पनि उस्तै भीड छ । यहा पछिल्लो एक महिनामा दैनिक १ सयभन्दा बढीको अनुपातमा संक्रमित बढ्दै गएका छन् । त्यसको प्रमुख कारण वित्तीय संस्था, व्यवसाय र सार्वजनिक सवारीको यात्रामा सतर्कता अपनाउन नसक्नु नै रहेको सरोकारवालाको भनाइ छ । तर, अनुगमन र नियन्त्रण शून्य छ ।

स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर नियन्त्रण प्रमुख केदार शाहका अनुसार जिल्लाका ठूला सहरमा अनियन्त्रित रूपमै संक्रमितको दर बढ्दो छ । परिवार संक्रमित भएर होम आइसोलेसनमै बस्दा पनि सदस्य बाहिरी समुदायमा घुलमिल हुने

गरेका छन् । बुटवल, भैरहवा, तिलोत्तमा, मुर्गिया र देवदहजस्ता जनघनत्व बढी भएका बजारमा पनि लापरबाही बढ्दो छ । ‘अहिले कतै पनि नियन्त्रण र सतर्कता देखिँदैन,’ उनले भने, ‘त्यसैको असर जिल्लामा संक्रमितको दर बढ्दै गएको हो ।’ बुटवल र भैरहवामा परीक्षणको दायरा बढाउँदै स्वाब संकलन गर्ने हो भने प्रति १ सयमध्ये ८० जनामा संक्रमण देखिन सक्ने उनको दाबी छ । ‘अवस्था निकै भयावह बन्दै छ,’ उनले भने, ‘त्यही अनुसारको नियन्त्रण र जिम्मेवारी छैन ।’

लुम्बिनी प्रदेशमा संक्रमितको संख्या २२ हजार ७३ पुगेको छ । शुक्रबारसम्ममा २ हजार ८ सय ७ जना सक्रिय संक्रमित छन् । रूपन्देहीमा संक्रमितको संख्या ७ हजार ४ सय ७८ पुगेको छ । तीमध्ये ८ सय ५२ जना सक्रिय संक्रमित छन् । कोभिड–१९ संक्रमणको सुरु चरणमा ‘हटस्पट’ बनेको बाँकेमा अहिलेसम्म संक्रमितको संख्या ३ हजार ६ सय ३९ मात्र छ । सक्रिय संक्रमित ४ सय १४ मात्र छन् । बाँकेमा पछिल्लो चरण स्थानीय तह र प्रशासनबाट निगरानी र कडाइ थियो ।

तर, पश्चिम नेपालकै व्यापारिक केन्द्र र सवारी ओहोरदोहोरको ‘ट्रान्जिट’ रहेको रूपन्देहीमा स्वास्थ्य मापदण्डमा कुनै निगरानी र नियन्त्रण छैन । त्यसले पनि पछिल्लो समय रूपन्देही संक्रमणको केन्द्र बन्दै गएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन डा. पुष्पराज पौडेलले बताए । ‘अहिले ७० प्रतिशत मानिस मास्कबिनै बजारमा हिँडिरहेका छन्,’ उनले भने, ‘व्यवसाय र सार्वजनिक यातायातमा कतै मापदण्ड कार्यान्वयन भएको देखिँदैन ।’ त्यसैको असर संक्रमण दर तीव्र गतिले उकालो लाग्दै गएको उनले बताए ।

रूपन्देही पश्चिम क्षेत्रकै व्यापारिक केन्द्र हो । प्रदेश सरकारले कोरोना संक्रमणको उपचारका लागि पनि बुटवललाई नै प्राथमिकतामा राखेर पूर्वाधार निर्माण सुरु गर्‍यो । सरकारले बुटवलको धागो कारखानाको खाली भवनलाई कोरोना संक्रमितको उपचार अस्पतालका रूपमा तयार गरेसँगै संक्रमितको उपचारमा बुटवल आशा र भरोसाको केन्द्र बनेको हो । त्यसपछि मात्र सरकारले राप्ती र भेरीमा संक्रमितको उपचार सुरु गरेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल मातहत रहेको कोरोना अस्थायी अस्पतालमा मात्र अहिलेसम्म चार सयभन्दा बढीको उपचार भएको छ । यो संख्या लुम्बिनी प्रदेशका साविकका तीन अञ्चलमध्ये सबैभन्दा बढी भएको कोरोना अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ‘लुम्बिनी प्रदेशसँगै गण्डकी र कर्णाली प्रदेशका पनि केही बिरामी उपचारका लागि यहाँ आएका छन्,’ उनले भने, ‘संक्रमित भएर आएकामध्ये झन्डै ८० प्रतिशत यहींबाटै निको भएर फर्केका छन् ।’ पछिल्लो चरण होम आइसोलेसनमै बस्ने र बिरामीको अन्तिम अवस्था भएपछि मात्र अस्पतालमा ल्याउने गरेकाले मृत्युदर पनि बढेको उनले बताए ।

लुम्बिनी प्रदेशमा बुटवलसँगै दाङ र बाँकेमा पनि सरकारले कोरोना अस्पताल सञ्चालन गरेको छ । तर, त्यहाँका अस्पताल अधिकांश समय खाली नै रहेको मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए । शुक्रबार पनि बाँकेमा १ जना बिरामी मात्र भर्ना भएर उपचार गराइरहेका छन् । ४ सय १३ जना संक्रमित होम आइसोलेसनमै छन् । दाङमा ३ सय ८९ होम आइसोलेसनमा र ८१ जना मात्र अस्पतालमा छन् ।

रूपन्देही लुम्बिनी प्रदेशका १२ मध्ये १० र गण्डकी प्रदेशका बागलुङ, पर्वत, स्याङ्जाको पनि व्यापारिक केन्द्र हो । पूर्वपश्चिम राजमार्गमा पर्ने भएकाले बुटवल हुँदै दैनिक साना ठूला गरेर ५ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । व्यापार, यातायात, स्वास्थ्य, शिक्षालगायतको केन्द्र भएकाले पनि पछिल्लो समयमा रूपन्देही कोरोनाको केन्द्र बन्दै गएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । ‘प्रदेशको मुकामदेखि सबै क्षेत्रको ट्रान्जिट बुटवल नै भएकाले सरकारले त्यहीअनुसार व्यवस्थापन गरेको छ,’ उनले भने, ‘तर, पछिल्लो चरणमा अस्पताल भरिभराउ हुने गरी संक्रमितको संख्या बढ्दै गएको छ ।’ सरकारले नियन्त्रण गर्नेभन्दा पनि नागरिकले व्यवहार परिवर्तन गरे मात्र संक्रमण नियन्त्रण हुने उनले बताए । प्रदेश सरकारले पनि संघीय सरकारकै मापदण्डअनुसार परीक्षण गर्ने गरेको छ । सरकारले पछिल्लो चरणमा लक्षण देखिएका संक्रमितको मात्र परीक्षण गर्ने मापदण्ड सार्वजनिक गरेको थियो ।

रेसुंगामा ८ दिन लकडाउन

विद्यालय, वित्तीय संस्था र क्याम्पसमै संक्रमण देखिएपछि गुल्मीको रेसुंगा नगरपालिकाले शुक्रबारदेखि पुनः ८ दिनका लागि लकडाउन घोषणा गरेको छ । सदरमुकाममा रहेको सिद्धबाबा मावि, रेसुंगा क्याम्पस, राष्ट्रिय वाणिज्य बैंक र एसबीआई बैंकलगायत संस्थाका कर्मचारी र स्थानीय व्यवसायीमा पनि संक्रमण देखिएपछि मंसिर १३ गतेसम्मका लागि नगरपालिकाको बजार क्षेत्रमा लकडाउन गरिएको हो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेको छ । रेसुंगा नगरपालिकाका स्वास्थ्य इन्चार्ज बोम अर्यालले भीडभाड हुने क्षेत्रमै बढी संक्रमित देखिएपछि पुनः लकडाउनको निर्णय गरिएको बताए । उनका अनुसार जिल्लामा शुक्रबारसम्म १ सय ७९ जना सक्रिय संक्रमित छन् । सिद्धबाबा माविमा ३ विद्यार्थी र एक शिक्षकमा संक्रमण देखिएको छ । नगरपालिकामा मात्र ३१ सक्रिय संक्रमित छन् ।

प्रकाशित : मंसिर ६, २०७७ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्

‘टिकटक’ बाट गन्तव्य प्रवर्द्धन

टिकटकले पर्यटकीय गन्तव्य चिनाएको मात्र छैन, व्यवसायको समेत प्रवर्द्धन गरेको छ
दीपक परियार

पोखरा — अघिल्लो रात टेन्ट नै टाँगेर तनहुँको मानहुँकोटमा बस्न पुग्ने आन्तरिक पर्यटक टन्नै हुन्छन् । भोलिपल्ट बिहान सूर्योदयसँगै अग्लो डाँडाबाट दमौलीबजार छोपिने गरी कुहिराले बनाएको ‘ह्वाइट लेक’ (सेतो ताल) हेर्न पुग्छन् । उनीहरूलाई उक्त स्थानमा पुर्‍याएको हो, टिकटकले ।

भिडियो सेयरिङ सामाजिक सञ्जाल टिकटकमा पोखरा महेन्द्रपुलका निकेश नेवाका फलोअर्स दुई लाख छन् । उनी पोखरा वरपरका थरीथरी गन्तव्यमा पुगेर टिकटक बनाउँछन् । उनका भिडियोले लाखौं भ्युज पाउँछन् । व्यवसायीले उनलाई टिकटकमार्फत नै आफ्नो होटल, रेस्टुरेन्ट, सपिङ मलमा आएर टिकटक बनाइदिन आग्रह गर्छन् । टिकटकमा मानहुँकोटको चर्चा चलेपछि त्यहाँ पुगेर उनले पनि भिडियो बनाएर अपलोड गरे । उनीजस्तै टिकटकबाटै थाहा पाएर मानहुँकोट पुग्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । त्यहाँ पुग्ने धेरैजसोले टिकटक बनाउने भएकाले मानहुँकोट ‘भाइरल’ छ । टिकटकले पर्यटकीय गन्तव्य मात्रै चिनाएको छैन, व्यवसायको समेत प्रवर्द्धन गरेको छ ।

तिहारअघिको एक शनिबार झन्डै १० हजार पर्यटक मानहुँकोट पुगेको तनहुँको व्यास नगरपालिका–५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । ‘तीन किलोमिटरजति गाडी र मोटरसाइकलको जाम थियो,’ उनले भने, ‘यत्तिका मान्छे यसअघि आएका थिएनन् ।’ मानहुँकोट पुगेका अधिकांश युवाले टिकटिकमा देखेरै घुम्न आएको प्रतिक्रिया दिएको उनले बताए । भने, ‘धेरै रकम खर्च गर्दा पनि हुन नसक्ने प्रवर्द्धन टिकटकबाटै हुने रहेछ ।’ आन्तरिक पर्यटकको संख्या बढेपछि दमौलीको होटल व्यवसाय पनि फस्टाएको उनले सुनाए । पर्यटकको चाप बढेपछि नगरपालिकाले हाल दिनमा तीन सय जनालाई मात्रै प्रवेश दिएको छ ।

मानहुँकोट अघि काभ्रेको तीनधारे झरना पनि त्यसरी नै चर्चामा आएको गन्तव्य थियो । ‘बाहुबली झरना’ का नामबाट उक्त विशाल झरना पनि टिकटकमा भाइरल भएको थियो । काभ्रेकै बेथानचोक र इलामको श्रीअन्तुबाट पनि टिकटक भिडियो बनाउनेको संख्या बढेको छ । ती स्थानबाट समेत सूर्योदय र कुहिराको दृश्य अवलोकन गर्न सकिन्छ ।

टिकटकबाटै पछिल्लो पल्ट पोखरा र वरपरका पर्यटन व्यवसायको प्रवर्द्धन भइरहेको छ । पोखरा–२८ कालिकाको चार्ल्स हिल नजिकैको पोखरा हेभन रिसोर्ट टिकटकबाटै चर्चित बन्यो । थुम्कामा रहेको उक्त रिसोर्टबाट हिमशृंखलाको अवलोकन गर्न सकिन्छ । रिसोर्टमा भएको ग्लास टावर, पिङ, गेट र संरचनाले धेरैलाई आकर्षित गरेको सञ्चालक एवं प्रबन्धनिर्देशक प्रवेश राजभण्डारीले बताए । ‘केहीले यहाँ आएर टिकटक बनाउनुभएछ,’ उनले भने, ‘त्यसपछि धेरै जना टिकटकमा देखेको भन्दै आउन थाल्न्भुयो ।’

लकडाउन खुलेलगत्तै आन्तरिक पर्यटकको चाप बढ्दा रिसोर्टभित्र प्रवेश गर्न झन्डै एक घण्टा पालो पर्खनुपर्ने अवस्था आएको उनले सुनाए । बेलायतका युवराज चार्ल्सले २०३८ मा पदयात्राका क्रममा बास बसेको डाँडालाई चार्ल्स हिल भनिन्छ । टिकटकमै देखेपछि फेवाताल किनारको पामेमा रहेको पाल्म बिच एन्ड लाउन्ज खोज्दै पुग्ने ग्राहक उत्तिकै छन् । पाल्मको पातले बनाइएको गोलाकारमा पुगेर फोटो, भिडियो खिच्ने र टिकटक बनाउने मोहले आन्तरिक पर्यटक त्यहाँ पुग्छन् ।

टिकटकमा राख्ने भिडियो बनाउन प्याराग्लाइडिङ गर्नेको संख्या ठूलो छ । झन् पहिलेभन्दा आधा छुटमा प्याराग्लाइडिङ पनि गर्न पाइने भएकाले आन्तरिक पर्यटकको भीड थामिनसक्नु छ । प्याराग्लाइडिङ पाइलट आफैंले टिकटकमा भिडियो अपलोड गर्छन् । प्याराग्लाइडिङ पाइलट संग्राम थापा पर्यटकसँग उडान भर्दै गरेको भिडियो नियमित टिकटकमा राख्छन् । उनको टिकटकमा ८६ हजार फलोअर्स छन् । भिडियोमा १५ लाख लाइक छ । उनले प्याराग्लाइडिङ गराउँदै गरेको एक भिडियो २९ लाखपल्ट हेरिएको छ । टिकटक प्रयोगकर्ताले उनीसँग भिडियोको कमेन्टमै प्याराग्लाइडिङ गर्दा लाग्ने शुल्क र अन्य प्रश्न सोध्छन् । टिकटकमै भिडियो हाल्न धेरै युवाले प्याराग्लाइडिङ गरेको उनको अनुभव छ ।

एसियन गेम्सका पदक विजेता प्याराग्लाइडिङ पाइलट युकेश गुरुङ पनि टिकटकमा सक्रिय छन् । उनको एक भिडियो १२ लाखपल्ट हेरिएको छ । टिकटकले पनि प्याराग्लाइडिङ गर्ने पर्यटक ह्वात्तै बढेको उनी बताउँछन् । नारायण तिवारी, सञ्जीव थापा, एलिस थापालगायत प्याराग्लाइडिङ पाइलटले पनि टिकटकबाटै व्यवसाय प्रवर्द्धन गरिरहेका छन् ।

पर्वतको कुस्मा र बागलुङको बलेवामा दसैंपछि सुरु भएको साहसिक गन्तव्य द क्लिफ नेपाल प्रालिले व्यवसाय प्रवर्द्धन गर्न टिकटकलाई माध्यम बनाएको छ । प्रालिले आधा किलोमिटर लामो पुल कालीगण्डकीको खोचमा बनाएको छ । उक्त पुलमा विश्वकै अग्लो स्विङ र दोस्रो अग्लो बन्जी छ । रिसोर्टमै स्काई साइक्लिङ र गुलेली शैलीको पिङसमेत छ । द क्लिफ नेपालको टिकटकमा ५२ हजार फलोअर्स छन् ।

प्रकाशित : मंसिर ६, २०७७ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×