तनहुँ — तनहुँको व्यास नगरपालिका– ५ मानहुँकोट जाँदै गरेको माइक्रोबस बुधबार बिहान साढे ५ बजेतिर भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–३२ की २९ वर्षीया सुनीता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
१६ जनाजति यात्रु बोकेर पोखराबाट आएको ग१ख २९४२ नम्बरको माइक्रोबस मानहुँकोट उकालोमा दुर्घटनाग्रस्त भएको हो । उकालोमा तान्न नसकेपछि केही यात्रु झरेर गाडी धकेल्न खोज्दा ‘ब्याक’ गएर भिरबाट खसेको तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘घाइते ९ जनामध्ये सुनीताको उपचारका क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो ।’ सात जनालाई सामान्य उपचारपछि घर पठाइएको र एक जनालाई पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय मानहुँकोट आउने आन्तरिक पर्यटकको संख्या बढेको छ ।
प्रकाशित : मंसिर ३, २०७७ ०९:२९