प्रविधिको प्रयोग र स्वास्थ्य मापदण्ड पालना गर्दै शैक्षिक गतिविधि अघि बढ्छ : मन्त्री भट्टराई

कार्तिक २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रविधिको प्रयोग र स्वास्थ्य मापदण्ड पालना गर्दै शैक्षिक गतिविधि अघि बढ्ने बताएका छन् ।

‘कोभिड–१९ ले गर्दा लामो समय हाम्रो शैक्षिक केन्द्रहरू बन्द भए,’ मन्त्री भट्टराईले भने, ‘त्यसले गर्दा विद्यार्थीको पठनपाठनलाई प्रतिकूल असर पारेको छ । अब यसलाई आधुनिक प्रविधिहरूसमेत प्रयोग गर्दै र स्वास्थ्य सम्बन्धी मापदण्डलाई पनि पालना गर्दै शैक्षिक गतिविधिलाई पुन: निरन्तरता दिने सोच सरकारले बनाएको छ । अब विद्यार्थीका खुसी छिट्टै फर्किनेछ ।’ संघीय सरकार, प्रदेश र स्थानीय तहको संयुक्त पहलमा हुनेसमेत स्पष्ट पारे । 

शनिबार दरबार हाई स्कुलअन्तर्गत संस्कृत मावि र भानु माविका विद्यार्थीलाई मोबाइल र शिक्षकलाई ल्यापटप उपकरण हस्तान्तरण समारोहमा मन्त्री भट्टराईले उक्त विचार व्यक्त गरेका हुन् । जोन्टा क्लब अफ काठमाडौंले उक्त उपकरण उपलब्ध गराएको हो । दुवै विद्यालयलाई १०/१० थान ल्यापटप र २०/२० थान स्मार्ट मोबाइल दिइएको छ ।

‘२०७२ को भूकम्पपछि नेपालकै जेठो दरबार हाई स्कुल फेरि शान र मानका साथ खडा भएको छ,’ पुन:निर्माणको इतिहासमा यो विद्यालयले राष्ट्रिय गौरव कायम गरेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘सहयोग गर्ने मित्र राष्ट्र चीनप्रति आभार व्यक्त गर्न चाहन्छु । अत्याधुनिक भवन बनेपनि कोरोनाले जनजीवन प्रभावित पारेको छ । अनलाइन माध्यमबाट सुचारु शैक्षिक गतिविधि निरन्तर राख्ने र भौतिक कक्षासमेत सहज तुल्याउने सोंच सरकारले बनाएको छ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीका अवसरमा विद्यालयले आयोजना गरेको अनलाइन निबन्ध प्रतियोगितामा विजयी विभिन्न विद्यालय विद्यार्थीलाई नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । नेपालभाषा (नेवारी), नेपाली र अंग्रेजी भाषामा निबन्ध प्रतियोगिता गरिएको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully