पहिलोल्ट नाम्खाका विद्यालय बन्द
हुम्ला/सल्यान — कोरोना संक्रमणको जोखिम बढेपछि हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र यालबाङ र सल्यानको शारदा नगरपालिका–१ श्रीनगर बजार सिल गरिएको छ ।
कात्तिक १८ गतेदेखि कोरोना संक्रमणमुक्त रहेको हुम्लामा बिहीबार बिहीबार चार जनामा कोरोना पुष्टि भएको हो भने सल्यानमा शारदा नगरपालिका–१ का वडाअध्यक्षसहित ३३ जनामा संक्रमण देखिएको छ ।
संक्रमणको आशंका गरिएपछि यालबाङबाट पाँचजनाको स्वाब संकलन गरि गत मंगलबार परीक्षणका लागि सुर्खेत पठाइएको थियो । समुदायमा संक्रमणको जोखिम बढेपछि शुक्रबारदेखि नाम्खा गाउपालिका–४ यालबाङ एक साताका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीले बताए । उनका अनुसार यालबाङ सिल भएपछि लकडाउनको अवधिमा पनि पठनपाठन भएको महाबौद्ध माध्यमिक विद्यालय पनि बन्द गरिएको छ । बिहीबार गरिएको परीक्षणमा ६३, ६०, ३१ र १६ वर्षका व्यक्तिमा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।
हुम्लामा समुदायस्तरमै कोरोना संक्रमण देखिए पनि परीक्षणका लागि स्वाब संकलन नगर्दा संक्रमित नभेटिएको नागरिक अगुवा वसन्त रोकायाले बताए । जिल्लामा पहिलोपटक असोज ३ गते एक युवतीमा संक्रमण देखिएलगत्तै थप २३ जनामा पनि कोरोना पुष्टि भएको थियो । संक्रमण फैलन नदिन संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ थालिएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।
अध्यक्षसहित एकै वडाका ३३ जनामा संक्रमण पुष्टि
सल्यानको शारदा नगरपालिका–१ मा वडाध्यक्ष नवराज बुढाथोकीसहित वडाका ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणका कारण श्रीनगरमा एक र दारिमचौरमा दुई पुरुषको मृत्यु भएपछि उनीहरुको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरिएको थियो । जसमा ३३ जनाको रिपोर्ट पोजिटिभ आएपछि थप एक साताका लागि श्रीनगर बजार सिल गरिएको हो ।
पीसीआर परीक्षणको रिपोर्ट नआउँदै एक व्यक्तिको मृत्यु भएपछि गत शनिबारदेखि श्रीनगर सिल गरिएको थियो । पछिल्लो समय संक्रमण देखिएका सबैलाई होम आइसोलेसनमा राखिएको नगरप्रमुख सुरेश अधिकारीले बताए ।
उनका अनुसार थप संक्रमण फैलन नदिन आवश्यक सर्तकता अपनाइएको छ । उनीहरु कसैमा पनि लक्षण नदेखिएको उनले जानकारी दिए । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार अहिलेसम्म सल्यानमा ५ सय ९४ जनामा कोरोना संक्रमण देखिएकोमा ५ सय ४९ जना उपचारपछि घर फर्किएका छन् ।
