गण्डकीमा कोरोना नियन्त्रण गर्न विशेष कार्ययोजना

कार्तिक २९, २०७७

प्रतीक्षा काफ्ले

गण्डकी — पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि विशेषा कार्ययोजना ल्याउने भएको छ ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले विशेष परिस्थितिअन्तर्गत नयाँ कार्यक्रम सार्वजानिक गरिएको बताए । उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विशेष कार्यक्रमअन्तर्गत प्रदेशका एघारवटै जिल्ला अस्पताल स्तरोन्नति गर्ने, बेड संख्या वृद्धिसँगै स्तरोन्नति, आईसीयू जडान, भेन्टिलेटर जडान, अक्सिजन प्लान्ट जडान र आवश्यक उपकरणको खरिद गरिने जनाए ।

प्रदेशअन्तर्गतका अस्पतालमा स्तरोन्नति गर्नको लागि संघीय सरकारले १५ करोड ६३ लाख ५० हजार रुपैयाँ दिएको जानकारी दिँदै उनले प्रदेश सरकारले पनि ११ करोड ४ लाख रुपैयाँ विनियोजन गरेको बताए । थप २७ करोड रुपैयाँ खर्च गर्दा अपुग भएमा प्रदेश सरकारले पुन बजेट विनियोजन गरेरै भए पनि ११ वटै जिल्लाका अस्पताल व्यवस्थित बनाइने योजना रहेको उनले सुनाए । यसैगरी जिल्ला अस्पताल लमजुङलाई प्रदेश सरकारको मातहतमा ल्याइएको छ ।  प्रवक्ता बस्नेतका अनुसार कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन सार्वजानिक खरिद ऐनको दफा ६६ र सार्वजानिक खरिद नियमावलीको १६५ बमोजिम अस्पताललाई आवश्यक पर्ने उपकरण खरिद गरी जडान गरिनेछ ।

 गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ ।  प्रदेशभर १० हजार ७५ जना कोरोना संक्रमित भएका छन् । जसमा ४ हजार ९ सय ९९ निको भइसकेको निर्देशनालयले जनाएको छ । ४ हजार ९ सय ५८ जना संक्रिय संक्रमित रहेका छन् । ९९ हजार २ सय २९ जनाको पीसीआर परीक्षण गरेमध्ये ८९ हजार १ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ ।

कोरोना भाइरस

प्रतीक्षा

Link copied successfully