‘जोमाथि दुर्व्यवहार भएको छ, उसलाई लामो समयसम्म मानसिक असर पर्न सक्छ’
काठमाडौँ — ललितपुर इमाडोलकी एक स्वास्थ्यकर्मी तीन महिनाअघि नै कोरोना संक्रमणमुक्त भइन् तर विभेदमुक्त भने हुन सकेकी छैनन् । किस्ट अस्पतालको आकस्मिक कक्षमा खटिँदा उनी संक्रमित भएपछि घरभेटीले कोठा छिर्न दिएनन् ।
‘१४ दिनसम्म अस्पतालकै क्याबिनमा बसें, पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किंदा घरभेटीले कोठा सरिदिनुपर्यो भन्न थाले,’ उनले भनिन्, ‘अस्पतालबाट घर आउँदाजाँदा छिमेकीले कर्के नजरले हेर्थे, त्यसपछि मलाई नै त्यो ठाउँमा बस्न मन लागेन ।’ स्वास्थ्यकर्मी भनेपछि नयाँ कोठा पाउन समस्या भएको र होस्टेलमा पनि ठाउँ नपाएको उनले बताइन् । कोरोना संक्रमणका कारण शारीरिक दुःखसँग त उनी सजिलै लडिन् तर संक्रमित भएकै कारण छिमेकी र साथीभाइले गर्ने व्यवहारसँग कहिलेसम्म लड्नुपर्ने हो उनलाई थाहा छैन ।
‘अहिले पनि कहिलेकाहीं रुघाखोकी लागिरहन्छ । मान्छेहरू फेरि कोरोना भयो होला भनेर शंका गर्छन्,’ उनले भनिन्, ‘हरेक पटक रुघा लाग्दा मैले पीसीआर गर्नुपर्छ, सबैलाई रिपोर्ट देखाउनुपर्छ ।’ कोरोना संक्रमितमाथि हुने नकारात्मक दृष्टिकोण नबदलिएका कारण स्वास्थ्य पेसादेखि नै वितृष्णा जागेको उनले सुनाइन् । घरबाट पनि यस्तो काम छोड्न कर गरिएपछि उनी वैकल्पिक पेसाका बारेमा सोचिरहेकी छन् ।
कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आए विभेद खेप्नुपर्ने डरका कारण सामाजिक संस्थामा कार्यरत काठमाडौंकी एक युवतीले लक्षण देखिए पनि परीक्षण गराएकी छैनन् । ‘परीक्षण गरे पनि औषधि केही छैन, यसै निको हुने त हो, बेकारमा किन जोखिम मोल्ने ? एक रात ज्वरो आयो, बास्ना थाहा पाइनँ,’ उनले भनिन्, ‘पीसीआर गर्दा कोरोना रै’छ भन्ने थाहा भयो भने घर बस्नुपर्छ । छिमेकीले सोध्छन् । अरू संक्रमितमाथि दुर्व्यवहार भएको देखेरै मलाई परीक्षण गर्न मन लागेन ।’
नेपालमा कोरोना महामारीको सुरुवाती समयमा संक्रमितमाथि जति विभेद हुन्थ्यो अहिले कम छ । संक्रमितलाई घर छिर्न नदिने, घरमा ताल्चा लगाइदिने र लाञ्छना लगाउने जस्ता विभेद भएको अहिले सुनिँदैन । रोगको प्रकृतिअनुसार संक्रमितमाथि अपेक्षित रूपमा भेदभाव घट्न नसकेको विशेषज्ञ बताउँछन् । कोरोना संक्रमणको ग्राफ ओरालो लाग्न नसक्नुका धेरै कारणमध्ये सामाजिक गलत धारणा र व्यवहारलाई पनि प्रमुख मान्छन्, जनस्वास्थ्यविद् डा. शरद वन्त । संक्रमित भइहाले अरूले के सोच्ला या दुर्व्यवहार गर्ला भन्ने त्रासले केही मानिसले परीक्षण नगर्ने, रिपोर्ट पोजिटिभ आए पनि लुकाउने, क्वारेन्टाइन नबस्ने गरेको उनले बताए ।
‘अहिले पनि कोरोना महामारीबारे गलत धारणा र भ्रम पूर्ण रूपमा हटेको छैन र सरकारले यो भ्रम चिर्न पहल गरेको देखिँदैन,’ उनले भने, ‘प्राविधिकबाहेक रोगका सामाजिक, मनोवैज्ञानिक र अन्य धेरै पक्ष हुन्छन्, उपचार मात्रै गरेर महामारी जस्तो रोग नियन्त्रण हुँदैन ।’ उपचारबाहेक सामाजिक तहमा गर्नुपर्ने कामका लागि अब सरकारले नयाँ पहल थाल्नुपर्ने बेला आएको उनले बताए । ‘महामारी सोचेजस्तो खतरनाक छैन भनेर सर्वसाधारणको आत्मबल बढ्नु, उनीहरू दैनिक काममा सक्रिय भएर लाग्न सक्नु सकारात्मक पक्ष हो,’ उनले भने, ‘तर रोग लागेकै कारण समाजले हेप्ला, एक पटक रोग लागेपछि जीवनभर कुनै न कुनै खाले दुर्व्यवहार खेप्नुपर्ला भन्ने विषयले भनेर उनीहरूलाई पिरोलेको छ । जसका कारण परीक्षण नगर्ने, रोग लुकाएर खुल्लमखुला हिँड्ने प्रवृत्ति बढेको छ ।’
मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार मनोवैज्ञानिक समस्याभन्दा पनि रोगसँग जोडिएका अन्य पाटाले पिरोलिएर अस्पताल आउने पनि छन् । जसमध्ये सामाजिक विभेद पनि एक हो । ‘ओपीडीमा आएका बिरामीको कुरा सुन्दा कोरोना संक्रमित भइएला भन्ने डर धेरै घटेको देखिन्छ, सामाजिक विभेद पहिले जस्तो छैन,’ उनले भने, ‘तर जोमाथि दुर्व्यवहार भएको छ, उसलाई लामो समयसम्म मानसिक असर पर्न सक्छ, यसअघि फैलिएका अन्य महामारीको अध्ययनले पनि यस्तै नतिजा देखाएको छ ।
उनका अनुसार रोगबारे नबुझेका, हेलामा परेका मानिस मात्रै नभएर कोरोना संक्रमतिको उपचारका लागि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी पनि उत्तिकै यो पीडा खेपिरहेका छन् । सरकारले संक्रमणको उपचारसँगै सामाजिक र मनोवैज्ञानिक पाटोमा काम नगर्ने हो भने महामारी हटे पनि मानसिक रोगीको संख्या बढ्न सक्ने उनले बताए ।
