बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

रूपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ ।

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

नेपालगन्ज उपमहानगरपालिका–२० रााझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका ती पुरुषको शनिबार राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तै, नेपालगन्ज उपमहानगरपालिका–२० राझा निवासी ६० वर्षीया महिला श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना भएकी थिइन् । परीक्षणका क्रममा उनलाई कोरोना पुष्टि भएको थियो ।

संक्रमित महिलालाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आईसीयूमा उपचारकै क्रममा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुनेको संख्या ३१ पुगेको छ। बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको संख्या भने २० पुगेको छ ।

प्रकाशित : कार्तिक १६, २०७७ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?