एम्बुलेन्स सुविधा पाउनै मुस्किल

एम्बुलेन्स चालकहरू नजिकको रुटका बिरामी ल्याउँदा धेरै आम्दानी हुने भएपछि टाढा बिरामी लैजान/ल्याउन मान्दैनन्

कार्तिक १४, २०७७

सुवास विडारी

मकवानपुर — पेटमा समस्या भएपछि रौतहटको चन्द्रपुर नगरपालिका–१ की ४० वर्षीया मनकुमारी खुसवार उपचारका लागि हेटौंडा आइन् । तीन दिन यहीँ उपचार भयो । थप उपचारका लागि उनलाई काठमाडौं लैजानुपर्ने भयो । तर बिहीबार उनको परिवारलाई एम्बुलेन्स पाउन ‘युद्ध लडे बराबर’ भयो ।

हेटौंडामा–१ मा रहेको सन्चो अस्पतालले उनको मुटुमा समस्या रहेको भन्दै बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका लागि रिफर गरेको थियो । अपराह्न ४ बजेबाट एम्बुलेन्स खोज्न भौंतारिएका मनकुमारीको परिवारले राति ११ बजे मात्र एम्बुलेन्स पायो । त्यो पनि चितवनसम्म मात्र जाने ।

प्रहरीको सहयोगमा बल्लतल्ल एम्बुलेन्स बिरामी लैजान तयार भएको थियो । भरतपुरबाट हेटौंडा बिरामी ल्याएर चितवन फर्किन लागेको एम्बुलेन्स प्रहरीले खोजिदिएको हो । ‘चितवनबाट अर्को एम्बुलेन्समा बिरामी ममीलाई लिएर हामी काठमाडौं आइपुगेका छौं,’ मनकुमारीका छोरा आकाश खुसवारले भने । हेटौंडाका करिब एक दर्जनभन्दा बढी एम्बुलेन्स चालकलाई फोन गर्दा पनि विभिन्न वहाना बनाएको उनले गुनासो गरे ।

शुक्रबार हेटौंडा–१० टीसीएन रोडका १९ वर्षीय युवाले विष सेवन गरे । उनको उपचार हेटौंडामा नहुने भयो । हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् भेन्टिलेटरसहितको आईसीयू चाहिने भन्दै चिकित्सकले उनलाई भरतपुर लैजान सुझाए । तर उनलाई भरतपुर पुर्‍याउन कुनै पनि एम्बुलेन्स तयार भएनन् । लामो कोसिस गर्दासमेत एम्बुलेन्स नपाएपछि स्थानीय युवाहरूले उनलाई सुमोमा पठाए । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

‘हेटौंडामा पर्याप्त एम्बुलेन्स भए पनि बिरामीले आवश्यक पर्दा पाउँदैनन् । जसले गर्दा कतिपय बिरामी अकालमै ज्यान गुमाउन बाध्य छन्,’ लामो समयदेखि एम्बुलेन्सको सहजताको माग राख्दै ध्यानाकर्षण गराइरहेका युवा विकेशलाल श्रेष्ठले भने । उनका अनुसार एम्बुलेन्स चालकहरू नजिकको रुटका बिरामी ल्याउँदा धेरै आम्दानी हुने भएपछि टाढा बिरामी लैजान/ल्याउन मान्दैनन् । ‘भरतपुर वा काठमाडौं बिरामी लैजानुपर्ने अवस्था भयो भने सुरुमै भाडा धेरै लाग्छ भन्छन् । तोकिएको भाडा दिन्छौं भन्यो भने एम्बलेन्समा विभिन्न थरीको समस्या छ भन्ने जवाफ आउँछ,’ उनले भने ।

श्रेष्ठ एम्बुलेन्स सञ्चालन गर्ने संघसंस्थाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउँछन् । ‘एम्बुलेन्स जस्तो संवेदनशील वस्तु बिग्रिएको छ भन्ने समेत जवाफ आउँछ । एम्बुलेन्स सञ्चालन गर्ने संघसंस्थाले यस विषयलाई गम्भीर रूपमा लिएको पाइन्न,’ उनले भने । उनले धेरैपटक आफूहरूले निजी सवारीमा बिरामी ओसारपसार गरेको सुनाए ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा एम्बुलेन्स सञ्चालन तथा समन्वय समिति छ । उक्त समितिले विभिन्न समयमा निर्देशन दिए पनि एम्बुलेन्स सेवा जिल्लामा सहज छैन । मकवानपुरका प्रजिअ गोविन्दप्रसाद रिजालले एम्बुलेन्स सेवालाई सहज बनाउन आफूले समन्वयात्मक बैठक राखेर स्वास्थ्य कार्यालयलाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको बताए ।

बैठकमा एम्बुलेन्स सञ्चालकहरूले भाडा दर पुनरावलोकन गर्नुपर्ने माग राखेका थिए । ‘२०६९ देखि भाडादर पुनरावलोकन नभएको रहेछ । यस विषयमा एम्बुलेन्स चालकहरूसँग दोस्रो चरणमा छलफल गरिनेछ,’ प्रजिअ रिजालले भने । उनले प्रशासन कार्यालयमा काठमाडौं बिरामी लगेको १३ हजार रुपैयाँ र भरतपुर बिरामी लगेको ७ हजार रुपैयाँसम्म भाडा लिएको भन्ने गुनासो आएको बताए ।

प्रशासनले बढ्दो कोरोना महामारीका कारण एम्बुलेन्स चालकहरू जोखिममा रहेको भन्दै भत्तासमेत तोकिदिएको छ । मकवानपुरबाट कोरोना संक्रमित लिएर काठमाडौं जाने चालकले १ हजार र चितवन जाने चालकले ५ सय रुपैयाँ साविकको भाडादरमा थप गरी लिन सक्ने व्यवस्था गरिएको छ । जिल्लाभर ३१ वटा एम्बुलेन्स सञ्चालनमा छन् । प्रशासनले हेटौंडाबाट काठमाडौं ७ हजार ५ सय, चितवनको ३ हजार, वीरगन्जसम्मको २ हजार, हेटौंडा बजार चारकिल्लाभित्र ३ सय र नगरबाहिर ३ सयसहित प्रतिकिलोमिटर २५ रुपैयाँ भाडादर निर्धारण गरेको छ । ‘भाडा पुनरावलोकनको विषय तत्काल अगाडि बढ्दैन । यो महामारीको समय हो । त्यसकारण सेवाभावले नै एम्बुलेन्स सञ्चालन गर्नुपर्छ, नाफा गर्ने गरी होइन,’ प्रजिअ रिजालले स्पष्ट पारे ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully