पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ पीसीआर परीक्षण, थपिए ५ सय ७० कोरोना संक्रमित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ पीसीआर परीक्षण, थपिए ५ सय ७० कोरोना संक्रमित

३ हजार १ सय ६८ डिस्चार्ज
कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा २ हजार ७ सय २५ पीसीआर परीक्षण भएका छन् । कम परीक्षणभएसँगै संक्रमितकाे संख्या कम भएकाे हाे ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमणबाट संविधानसभाका पूर्वसदस्य चौधरीको निधन

रासस

काठमाडौँ — संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट मंगलबार निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई सास लिन कठिनाइ भएपछि असोज तेस्रो साता उपचारका लागि कोसी अस्पताल विराटनगर लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले बताए । घरमा नै नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाइ उपचार गर्दा समेत सास फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उनलाई बीपी प्रतिष्ठान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा उनमा पहिलो पटक नेगेटिभ र दोस्रो पटक पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको मंगलबार मृत्यु भएको नगर प्रमुख वसन्तकुमार मिश्रले बताए ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यससँगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×