काठमाडौंमा सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा सक्रिय उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण

कुल संक्रमितमध्ये ३३.१२ प्रतिशत, सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएकामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।
अतुल मिश्र

काठमाडौँ — काठमाडौंमा २१ देखि ४० वर्ष उमेर समूहमा ५६.१२ प्रतिशत संक्रमण देखिएको छ । यो उमेर समूहका व्यक्ति धेरै चलायमान हुने भएकाले उनीहरूमा बढी संक्रमण देखिएको हो । कुल १२६१३७ संक्रमितमध्ये ४१८५५ जना अर्थात् ३३.१२ प्रतिशत, ३७३८२ जना सक्रिय संक्रमितमध्ये ४४.१५ प्रतिशत र कोभिडबाट मृत्यु भएका ७१५ जनामध्ये २१.५३ प्रतिशत काठमाडौं जिल्लाका छन् ।

वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तका अनुसार सबैभन्दा सक्रिय उमेर समूहमा बढी संक्रमित देखिनुले यसको व्यापकता र जटिलता दुवै देखाउँछ । ‘यो डरलाग्दो तथ्यांक हो, नेपालले आफ्नो सारा अवसर गुमायो, दक्षिण एसियामा सबैभन्दा नराम्रो अवस्थामा पुग्ने डर भयो,’ उनले भने, ‘खास गरेर राजधानी काठमाडौं नै कोल्याप्स भयो भने देशभरिको अरू भाग त सबै कोल्याप्स हुन्छ ।’

काठमाडौं जिल्लामा काम गर्ने उमेर समूहअन्तर्गत २१ देखि ५० वर्षसम्मका कोभिड संक्रमित ७२.८२ प्रतिशत छन् । ‘दिनहुँ हजार–दुई हजारभन्दा बढी नयाँ कोभिड संक्रमित काठमाडौंमा देखिएका मात्र हुन्,’ उनले भने, ‘काठमाडौंमा संक्रमण भएर पनि पहिचान नभई घुमिरहेकाको संख्या कति छ कति । अब गम्भीर हुनुपर्ने स्थिति आइसक्यो ।’

स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार काठमाडौंमा कोभिड संक्रमण समुदायमा गइसकेको भए पनि आधिकारिक स्तरबाट प्रमाणित गर्न ‘सेरो प्रिभिलेन्स सर्भे’ को नतिजा पर्खनुपर्ने अवस्था छ । काठमाडौंमा कोभिड संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना भएको जनाउँदै चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘कोरोना भाइरसको काठमाडौं केन्द्रबिन्दु भयो । पछिल्लो दुई महिनामा कोभिडका चार गुणा केस बढेको छ । आईसीयूको त के कुरा, जनरल बेड पनि पाउन नसकिने अवस्था आएको छ ।’

स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीहरूले समेत काठमाडौंमा कोभिड बिरामीका लागि बेड पाउन गाह्रो भएको, नपाइएको गुनासो बढ्दै गएपछि बाध्य भएर सबै सरकारी अस्पतालमा कोभिडको उपचार गर्न थालिएको बताए । उनीहरूले अझै बेडको समस्या कायमै रहेको जनाए ।

काठमाडौंका सबै अस्पताल कोभिड बिरामीले भरिइसकेको र ठाउँसमेत नरहेको जनाउँदै डा. वन्त भन्छन्, ‘हामीभन्दा श्रीलंका धेरै माथि थियो, सानो जनसंख्या भएको माल्दिभ्स अत्यन्त जोखिममा थियो, उसले रोक्यो । पाकिस्तान, बंगलादेशले रोके । भुटानले पनि राम्रो गर्‍यो । भारतले राम्रो गर्न नसके पनि त्यहाँ निको हुने दर बढी भएकाले संक्रमितको संख्या घट्दै छ तर हामी कहाँ थियौं र गलत नीतिले गर्दा कहाँ पुग्यौं ?’

चिकित्सक संघले पनि काठमाडौंलगायत देशभर कोभिड संक्रमित बिरामीहरूको उपचारका लागि अस्पतालहरूमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजन र रेमडेसिभिरलगायत अत्यावश्यक औषधिहरूको अभावका कारण संक्रमितहरू सडकमा भौंतारिन बाध्य भएको जनाउँदै सहज उपलब्धताको माग गरेको छ । सरकारले काठमाडौंको कोभिड संक्रमणविरुद्घ चाँडै स्मार्ट एक्सन नलिए यसको प्रसार देशभरि हुने र थेग्न नसकिने अवस्था आउने विज्ञहरूले चेतावनी दिएका छन् ।

‘अब सरकारले स्वास्थ्य उपचारको स्रोत र साधनलाई पाँच गुणा नबढाए भयावह अवस्था निम्तिन्छ,’ डा. कार्कीले भने, ‘बेड नपाएर घरकै आइसोलेसनमा, सडकमा भौंतारिएर संक्रमितहरू मर्न थाले ।’ विज्ञहरूले राजधानीमा कम्तीमा १० हजार जनालाई पुग्ने आइसोलेसन सेन्टर स्थापनासँगै, एउटा ठूलो अस्पताल र मेडिकल कलेजलाई पूर्ण कोभिड अस्पतालका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्यकर्मीलाई कोरोना देखिए मात्र आइसोलेसन

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना लक्षण वा पोजिटिभ देखिए मात्र आइसोलेसन बस्न निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको असोज २९ गतेको सचिवस्तरीय बैठकले कोभिड–१९ बिरामीहरूका उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै गरी यस्तो निर्णय गरिएको बताएका हुन् ।

प्रकाशित : कार्तिक १, २०७७ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न सरकारको स्वीकृति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषदले नेपाली राष्ट्रिय टिमलाई बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नका लागि शुक्रबार स्वीकृति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

एन्फाका प्रवक्ता किरण राईले भने, ‘विश्वकप छनोटका खेलको तयारीमा बंगलादेशले नेपालसँग दुई म्याच खेल्न प्रस्ताव गरेको थियो । त्यसका लागि नेपाली टिमलाई खेलाउन परिषदले स्वीकृति दिएको हो ।’ फिफाले अन्तर्राष्ट्रिय खेलका लागि नोभेम्बर ११ देखि १९ को अवधि तोकिदिएको छ र त्यही अवधिमा मैत्रीपूर्ण खेलका लागि बंगलादेश फुटबल महासंघले एन्फासँग प्रस्ताव गरेको हो ।

‘खेलको मिति र आयोजनास्थल निश्चित भइसकेको छैन तर बंगलादेशले उतै खेल्न प्रस्ताव गरेको हो र दुवै खेल उतै हुनसक्छ,’ प्रवक्ता राईले भने । उक्त खेल सम्भव भएमा नेपाली टिमका लागि त्यो प्रतिस्पर्धा कोरोना भाइरसको महामारी फैलिएयताकै पहिलो हुनेछ । विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा नेपालले १९ नोभेम्बर २०१९ मा घरेलु खेलको रुपमा थिम्पूमा कुवेतविरुद्ध प्रतिस्पर्धा गरेको थियो । त्यसमा खाडी मुलुकले १–० को जित हात पारेको थियो । प्रवक्ताका अनुसार नेपाली टिमसँग मैत्रीपूर्ण खेलका लागि मंगोलिया र डोमिनिकन रिपब्लिकले पनि प्रस्ताव गरेका थिए । ‘तर, ती दुई देशसाग खेल्नेबारे कुनै निर्णय गरिएको छैन,’ उनले भने ।

राष्ट्रिय टिमको प्रशिक्षण दसैंपछि सुरु गर्ने एन्फाले जनाएको छ । गत महिना एन्फाले प्रशिक्षणलाई खेलाडी बोलाएपनि विश्वकप छनोटका खेल फेरि स्थगित भएपछि खेलाडीलाई घर फर्काएको थियो । कोरोना संक्रमण तीव्र भएपछि फुटबल गतिविधि ठप्प भएको हो । युरोप, दक्षिण अमेरिका, छिमेकी भारतमै पनि फुटबल पुनः सुचारु भए पनि नेपालमा ठप्प नै छ । चैत ११ मा लकडाउन घोषणा गर्नुअघि रोकिएको सहिद स्मारक बी डिभिजन लिग अझै सुचारु गर्नेबारे एन्फाले कुनै निर्णय गरेको छैन ।

‘होम एन्ड अवे’का आधारमा भइरहेको विश्वकप छनोटमा नेपालले ५ खेल खेलेको छ । त्यसमा ४ हार र १ जितको (चाइनिज ताइपेईविरुद्ध २–०) नतिजा निकालेको छ । अब नेपालले जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध ‘होम ग्राउन्ड’मा खेल्न बाँकी छ । नेपालका लागि विश्वकप छनोटमा तेस्रो चरण प्रवेशको सम्भावना लगभग समाप्त भइसकेको अवस्थामा यी तीन खेल महादेशीय च्याम्पियनसिपको छनोटलाई भने महत्वपूर्ण छ ।

प्रकाशित : कार्तिक १, २०७७ ०७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×