कांग्रेस केन्द्रीय समिति बैठक दसैंपछि मात्रै

आश्विन २८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दसैंपछिमात्रै बस्ने भएको छ । यसअघि दुईपटक मिति तय भएर स्थगित भएको बैठक दसै‌ तिहारपछि मात्रै बस्ने गरी स्थगित भएको हो ।

कोरोनाको संक्रमण बढेको र धेरैजना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सम्भव भए कोजाग्रत पूर्णिमाको केही दिनपछि सबैको पीसीआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए । 

दसैं र तिहारकाबीचमा बैठक बस्‍न नसके तिहारपछि पनि बस्ने शर्माले बताए । विशेषगरी महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रिय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रुपमा पेश गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा रहेको थियो । 

प्रवक्ता शर्माले फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताए । फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए । 

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रिय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully