चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका भरतपुरका एक जना ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका भरतपुर महानगरपालिका–१० का ती पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी असोज २४ गते अस्पताल भर्ना भएका थिए ।
असोज २२ गते नै उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । प्रोस्टेट क्यान्सरको पनि समस्या देखिएका उनलाई अस्पतालले आईसीयूमा राखेर उपचार गर्दै आएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनी अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् । योसहित कोरोना भाइरसको संक्रमण देखिएका चितवनका ३६ जनाको निधन भएको छ ।
चितवन स्वास्थ्य कार्यालयबाट प्राप्त विवरण अनुसार सोमबार दिउँसोसम्म जिल्लामा कुल संक्रमित २ हजार ७ सय ६४ पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या १ हजार ९७ रहेको छ । यीमध्ये ७५४ संक्रमित होम आइसोलेसनमै रहेको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । ३ सय ४३ जना मात्रै संस्थागत आइसोलेसनमा छन् । अर्थात् दुई तिहाईभन्दा बढी संक्रमित घरमै छन् ।
