नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित - समाचार - कान्तिपुर समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ ।

२४ घन्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

२४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २ हजार ३४० रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना रहेका छन् ।


प्रकाशित : आश्विन २०, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्

खुलेको भोलिपल्टै बन्द भयो तातोपानी नाका

अनिश तिवारी

सिन्धुपाल्चोक — सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुन: बन्द भएको छ । यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको छ ।

यसअघिका सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कन्ट्याक्ट ट्रेसिङ’ र उपचार नसकिँदै मंगलबार ३ जनामा कोरोना पोजिटिभ देखिएपछि चीनले वारीपारी कन्टेनर आउजाउ गर्न दिएको छैन ।

तत्काल ठप्प गरिएको तातोपानी नाका ‘नयाँ मोडालिटी’मा गएर सहज बनाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘यसबारे दुवै पक्षबीच गहन छलफल भइरहेको छ, नयाँ मोडालिटीबाट चाँडै नाका सहज बनाएर छाड्नेछौं,’उनले भने ।

गएको १३ असोजमा नेपाल चीन अधिकारीबीच मितेरी पुलको छलफलले कोरोना भाइरस नियन्त्रण गर्ने र प्राकृतिक विपतबाट बच्ने साइरन राख्नेजस्ता शर्तमा तातोपानी नाका खुलाउने सहमति भएको थियो ।

यसअघि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड सामाग्री दसैंैअघि राजधानी पुर्‍याउने लक्ष्य राखेर नाका सञ्चालनमा ल्याइएको थियो । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ वटा कन्टेनरबाट लत्ता कपडा, गार्मेट सामग्रीसहित केही तयारी सामाग्री तातोपानी भित्रिएको थियो ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार यसअघि चीनले मितेरी पुल पारी स्टोर गरेर राखिएको सामाग्री लिन चालक र मजदुर २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा पुग्ने गरेका थिए । तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानी नाकाबाट कारोबार नर्गन भन्दै नागरिकलाई सूचना जारी गरेपछि पछिल्लो पटक नाका बन्द थियो । सबै चालक र मजदुरको ५ /५ दिनमा परीक्षण गर्ने क्रममा कोरोना भाइरस देखिएका चार जनालाई सदरमुकाम चौतारास्थित आइसोलसनमा राखेर उपचार गरिँदैछ । ती चार जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ नसकिँदै आहिले पुन: ३ जनाका कोरोना पोजिटिभ देखिएपछि सीमाबासी आत्तिएका छन् ।

यस्तो छ नयाँ मोडालिटी

चीनको सुख्खा बन्दरगाह जाङ्बु पोर्टमा भएपनि आयात गरिने सामाग्री भने चीनको गोन्जओ, सिगात्से हुँदै खासासम्म ल्याइने गरिएको छ । पीसीआर मेसिनसहित दुई डाक्टरको मेडिकल समूहले सम्पूर्ण मजदुरको कोरोना परीक्षण गरिने उनको भनाइ छ ।

एक चिनियाँ अधिकारीका अनुसार ‘नयाँ मोडालिटी’ अनुरुप चीनको खासा क्षेत्रबाट चिनियाँ कन्टेनरले ल्याएको नेपालको भन्सार यार्डमा ल्याएर सामाग्री स्टोर या खसालेर राखिदिनेछन् । त्यसलाई सेनिटाइज गरिसकेपछि भन्सार प्रोटोकल पूरा गरेर नेपालले लैजाने मोडालिटी ल्याउनेमा स्थानीय प्रशासन र भन्सार टिम छलफलरत छन् ।

प्रकाशित : आश्विन २०, २०७७ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×