बाँकेमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

आश्विन १८, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेको कोहलपुरमा उपचारको क्रममा एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । उनको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कञ्चनपुरको महेन्द्रनगर निवासी महिलालाई बच्चा जन्माएपछि पनि रक्तश्राव नरोकिएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । 

सुत्केरी हुँदा नै निरन्तर रक्तश्राव भइरहेकी २९ वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

सेती अस्पतालमै बच्चा जन्माएकी महिलाको असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना देखिएको थियो । ती महिलालाई १५ गते कोहलपुरमा ल्याइएको थियो । कोहलपुरमा ल्याउँदा महिला बेहोस थिइन् । 

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully