काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी शुल्क लिने आठवटा निजी ल्याबले बुधबारसम्म सरकारले निर्धारण गरेकै शुल्कमा पीसीआर नगरे दर्ता खारेज गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले भदौ २८ मा पीसीआरको २ हजार रुपैयाँ निर्धारण गरेकोमा निजी ल्याबले भने ३ हजार ९ सय देखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका छन् । २४ घण्टाभित्र शुल्क समायोजन नगरे कालोबजारीमा कारबाही चलाउने समेत चेतावनी दिएको छ ।
गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमनमा ललितपुरको स्टार अस्पताल, बीएण्डबी अस्पताल, नेपाल मेडिसिटी, कमलपोखरीको सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टर, लाजिम्पाटको सुरिया हेअल्थ केयर, धुम्बराहीको ह्याम्स, सिनामंगलको डीकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, थापाथलीको इन्टरपिड डायगनोस्टिक सेन्टरले २ हजार रुपैयाँ भन्दा बढी लिएको पाइएको मन्त्रालयले जनाएको छ ।
इन्सिडेण्ट कमाण्ड सिस्टमले बढी शुल्क लिने यी ल्याबलाई एक पटकलाइ चेतावनी दिने र २४ घण्टा भित्र तोकिएको शुल्क समायोजन नगरे प्रयोगशालाको स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालालाई निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । ‘निर्धारण गरेको भन्दा बढी शुल्क लिएकोले कालोबजारीमा प्रयोगशाला बन्द गराउने गरी गृहमन्त्रालय र बाणिज्य विभागलाई कारबाही गर्न लेखी पठाउने पनि निर्णय भएको छ,’उनले भने ।
नेशनल टेस्टिङ गाइडलाइनस अनुसार परीक्षणमा नपरेका व्यक्तिको नमुना लिई परीक्षण गराउने र सूचीकृत नपरेका प्रयोगशालाले बिचौलियाको रुपमा कोभिड १९ परीक्षण नमुना परीक्षणका लागि नमुना लिन सहनीकरण गरेमा छानबिन गरी कारबाही गर्न समेत लेखी पठाउने निर्णय भएको उनले बताए ।
