बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको बिहिबार राति मृत्यु भएको छ । योसहित प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

बीपी प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु

प्रतिष्ठानको प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार सप्तरीको राजविराज नगरपालिका–३ का ७० वर्षीय र मोरङको कानेपोखरी–१ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । राजविराजका संक्रमितको भदौ २५ गते गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको थियो । ज्वरो खोकी र निमोनियासँगै स्वासप्रश्वासमा समस्या भएपछि भदौ २८ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी मोरङका पुरुषलाई आन्द्राको क्यान्सरको शल्यक्रियापछि उपचार भइरहेको अवस्थामा कोरोना संक्रमित भएर कोभिड अस्पतालमा भर्ना भएका थिए । प्रतिष्ठानमै यसअघि आन्द्राको क्यान्सरको शल्यक्रिया गरेर उपचार गरिरहेको अवस्थामा फलोअपको क्रममा असोज ५ प्रतिष्ठानको सर्जिकल आईसियूमा भर्ना भएका थिए ।

प्रवक्ता सापकोटाका अनुसार उनी आन्द्राको क्यान्सरकै कारण शरीरको अन्यभागमा पनि क्यान्सर फैलिएको अवस्थामा सर्जिकल आईसियूमा उपचाररत रहेका थिए । उपचाररत अवस्थामा उनको पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि असोज ८ गते कोभिड अस्पतालमा स्थानान्तरण गरिएको प्रवक्ता प्राडा सापकोटाले बतााए ।

मृतक दुवै पुरुषको शवको व्यवस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित : आश्विन ९, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?