सरकारका कमजोरी, संक्रमितको निगरानीदेखि खाना व्यवस्थापनसम्म सुधार्न संसदीय उपसमितिको १७ बुँदे सुझाव

उपसमिति संयोजक श्रेष्ठ भन्छन्- 'होम आइसालेसनकै कारण समुदायमा संक्रमण फैलिने आधार बनेको पाइयो ।’

आश्विन ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना नियन्त्रण, सरकारको कामकारबाहीको अनुगमगन गर्न गठित उपसमितिले पीसीआर परीक्षणदेखि संक्रमितको खाना व्यवस्थापमा सरकारको कमजोरी रहेको निष्कर्ष निकालेको छ ।

सत्तारुढ नेकपाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठिन उपसमितिले स्थलतगत अनुगमन र छलफलबाट आएका तथ्यको आधारमा कोरोना नियन्त्रण गर्नका लागि सरकारी कमजोरी सुधार गर्न १७ बुँदे सुझाव दिएको छ । 

'सरकारले अहिले जति गरेको छ त्यो पनि राम्रै छ । तर, भएका साधन स्रोतबाट अझै गर्न सकिने देखियो,’ श्रेष्ठले भने, ‘संक्रमित जति संख्या बढेको छ उनीहरुलाई राख्न हाम्रो संरचना र जनशक्ति बढाएको पाइएन । त्यसैले संक्रमितलाई घरमा राख्नु परेको छ । होम आइसालेसनकै कारण समुदायमा संक्रमण फैलिने आधार बनेको पाइयो ।’

काठमाडौं उपत्यकामा एकीकृत आइसोलेसन बनाउन मन्त्रिपरिषद्ले गरेको निर्णयसमेत कार्यान्वयनमा ढिलाई गर्दा संक्रमित घरमै बस्नु परेको उनले बताए । संक्रमितलाई घरमा राख्दा एउटै शौचालय, धारा, कोठा एउटै हुने हुँदा समस्या बढेको उपसमितिको निष्कर्ष छ । 

यसरी घरमा संक्रमित राखे पनि सरकारले निगरानी नगरेको पाइएको श्रेष्ठले बताए । त्यसैले उपसमितिको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, ‘होम आइसोलेसनमा बसेकालाई समेत स्वास्थ्यकर्मीले नियमित निगरानी गर्नुपर्ने हुन्छ ।’ 

संसदीय समितिको उपमितिले पीसीआर रिपोर्ट दिन ढिलाई गरेको, तत्काल रिपोर्ट दिन देशभरको ल्याबलाई एकीकृत समन्वय नभएको, आइसोलेसन सञ्चालन गर्न सरकारले अनुमति दिँदा संक्रमितलाई के खुवाउने भन्ने मेनु समेत दिन नसकेको, क्वारेन्टाइनमा राख्नेलाई खाना खुवाउन न्यून रकम उपलब्ध गराएको ठहर गरेको छ ।

सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी लगायतको जोखिम भत्ता उपलब्ध नगराएको समेत उपसमितिले प्रतिवेदनमा औँल्याएको छ । कोरोना अस्पतालमा आइसीयू र भेन्टिलेटरमा दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सरकार चुकेको उपसमितिको प्रतिवेदनले देखाएको छ । 

उपसिमितिले बिहीबार समिति सभापति जयपुरी घर्तीलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा प्रत्येक अस्पतालमा 'नन-कोभिड' बिरामीको उपचार सहज बनाउनुपर्ने, पाटन, वीर, शिक्षण अस्पताल महाराजगन्ज, धुलिखेलले आफ्नो आम्दानीबाट कर्मचारीको तलब भत्ता दिन नसक्ने भएकोले सरकारले सहयोग गर्नपर्ने सुझाव दिएको छ । 

त्यस्तै उपचारमा संलग्न स्वास्थ्यकर्मी सक्रमित हुने दर बढेकोले वैकल्पिक स्वास्थयकर्मीको व्यवस्थापन गर्नु पर्ने, अस्तपालमा शव व्यवस्थापनका लागि मर्चरी हाउसको क्षमता बढाउनुपर्ने, प्लाज्मा बैंक स्थापना गर्न आवश्यक नीति बनाउनु पर्ने, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अनुसन्धानलाई अघि बढाउनु पर्ने सुझाव उपसमितिले दिएको छ । उपसमितिले सातै प्रदेशमा थप अनुगमन गरेर पूर्ण रिपोर्ट बुझाउने संयोजक श्रेष्ठले जानकारी दिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully