५० प्रतिशत कोटा तोकिएपछि निजी वायुसेवाले उडान नगर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० प्रतिशत कोटा तोकिएपछि निजी वायुसेवाले उडान नगर्ने

सुरज कुँवर

काठमाडौँ — सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाइदिएपछि त्यसमा आपत्ति जनाउँदै आन्तरिक वायुसेवा सञ्चालक संघमा आबद्ध निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर असोज १ गते (बिहीबार) देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको थियो । तर, संघमा आबद्ध निजी वायुसेवाहरुले यो व्यवस्थामा तत्काल उडान गर्न असमर्थ रहेको जानकारी गराउँदै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पर्यटन सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई नियमित उडान तत्काल नगर्ने पत्र पठाएका छन् ।

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले छिमेकी मुलुक भारत लगायत विश्वका अन्य मुलुकमा सामाजिक दूरी राखेर सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने नियम नभएकाले आफूहरुले सरकारको यो व्यवस्था नमान्ने बताए ।

कान्तिपुरसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय उडानमा यो नियम नभएको बताउँदै त्यहाँ लागू गरिएको ७२ घन्टाको पीसीआर पनि पूर्ण विश्वास गर्न सकिने विधि नभएको दाबी गरे । ‘हामी मास्क, फेस सिल्ड दिन्छौं, शौचालय जान पाइदैन, इन–फ्लाइट सर्भिस हुँदैन,’ यति एयरलायन्सका सीईओ समेत रहेका रिमालले भने, ‘स्वास्थ्य सम्बन्धि बनाइएका मापदण्ड पालाना गर्दै उडान गर्दा संक्रमणको जोखिम अत्यन्त न्यून रहन्छ ।’

सरकारले कूल सिटको ५० प्रतिशत मात्रै यात्रु राख्दा अहिले भाडादर वृद्धि गरिदिने भनेको थियो । तर, व्यवसायीहरुले टिकटदर बढाउने विषयमा पनि असहमति जनाएका छन् । ६ महिनादेखि बन्द वायुसेवा उद्योगले ५० प्रतिशतमात्रै यात्रु राखेर उडान सञ्चालन गर्न नसक्ने जनाउँदै यो व्यवस्था खारेज भएमा मात्रै सेवा सुचारु गर्ने भनेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

कक्षा १२ को परीक्षा अनलाइन वा घरपायक गर्न प्रस्ताव

सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन वा विद्यार्थीको घरपायक पर्ने परीक्षा केन्द्रबाट गर्न सरकारलाई प्रस्ताव गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनलाइन वा विद्यार्थी रहेकै स्थानबाट परीक्षा संचालन गर्न प्रस्ताव पठाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । शिक्षा मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेर स्वीकृत गराएपछि मात्र कार्यान्वयनमा आउनेछ । कुल एक सय पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा गर्ने बोर्डले जनाएको छ । विद्यार्थीले कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा ४० पूर्णाङ्क र २० पूर्णाङ्कको प्रयोगात्मक परीक्षा गरिने बोर्डले जनाएको छ ।

‘फेस टु फेस’ विधिबाट परीक्षा लिन सम्भव नहुने देखिएकाले रोकिएको परीक्षा गर्न यस्तो प्रस्ताव गरिएको हो । यसको विकल्पमा परम्परागत विधिमा विद्यार्थीलाई घरपायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने प्रस्ताव पनि तयार पारिएको छ । यसको लागि बोर्डले विद्यार्थी रहेको स्थानको तथ्याङ्क संकलन गरिरहेको छ । ‘अनलाइनलाई प्रयोग गरेर परीक्षा लिन सकिन्छ भनिएको हो,’ शर्माले भने, ‘विद्यार्थीलाई अनलाइनबाट प्रश्न दिने र खुला विधिबाट उत्तर लेखेर पठाउने मोडल हुन्छ ।’ प्रस्ताव स्वीकृत भइसकेपछि मात्र परीक्षा संचालनसम्बन्धी विस्तृत ढाँचा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । प्रश्नपत्र अनलाइनबाट पठाएपनि उत्तर बुझाउन सूचना प्रविधिको अन्य साधन पनि प्रयोग गर्न सकिने भनिएको छ ।

वैशाख पहिलो साता संचालन हुने कक्षा १२ को परीक्षा लकडाउनका कारण स्थगित गरिएको थियो । कक्षा १२ मा ४ लाख ३२ हजार परीक्षार्थी छन् । कक्षा १० र ११ को परीक्षा भने विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनको आधारमा सम्पन्न गरिएको थियो । कक्षा १२ विद्यालय तहको अन्तिम कक्षा भएकाले बोर्डले नै परीक्षा संचालन गर्नुपर्ने पदाधिकारीहरुले बताउँदै आएका छन् ।

शिक्षा ऐनले कक्षा १२ को परीक्षा बोर्डले परम्परागत विधिबाट सम्पन्न गर्ने व्यवस्था गरेकाले फरक तरिकाले परिक्षा गराउन मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्छ । मन्त्रिपरिषद्बाट निर्णय भएर नआएसम्म कुन विधिबाट परीक्षा संचालन हुन्छ भनेर एकीन गर्न नसकिने बोर्डका अधिकारीहरुले बताए ।

प्रकाशित : भाद्र ३१, २०७७ १८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×