वडाले सिफारिस दिन्छ, पारि गाडीले पर्खिन्छ

भाद्र २९, २०७७

कमल पन्थी

बर्दिया — कोरोना संक्रमणको डरले घर आए । स्थानीयस्तरमा रोजगारी पाउने अवस्था नहुँदा हातमुख जोर्नै गाह्रो पर्‍यो । बर्दियाका गाउँहरूबाट अब फेरि भारत जानेको लर्को लागेको छ । आफ्नो बस्तीको वडा कार्यालयबाट सिफारिस लिएर जानेहरूलाई सीमा पारि लैजान गाडीले पर्खिने भएकाले फेरि पुरानो रोजगारीमा जान थालेका हुन् ।

विभिन्न जिल्लामा निषेधाज्ञा र नाकामा पनि आवागमन औपचारिक रूपमा नखुलेकाले भारत जानेलाई स्थानीय तहले सिफारिसपत्र बनाइदिन थालेका छन् । बढैयातालका केही वडा कार्यालयले भारतमा मजदुरीका लागि जानेका निम्ति सिफारिसपत्र दिने गरेको छ । घर आएर १४ दिन क्वारेन्टाइनमा बिताएकाहरू महिना पनि नबित्दै वडाबाट सिफारिस लिएर भारततर्फ गइरहेका छन् । यसरी जानेलाई लिन सीमावर्ती भारतीय बलैगाउँ र रुपैडिहा बजारमा बसको सुविधा रहेको उनीहरूले बताएका छन् । बेरोजगार बस्दा छाक टार्न समस्या भएपछि भारत जान सिफारिस मागेको बढैयाताल–५ का लक्ष्मण थारूले बताए ।

स्थानीय लखना थारूलाई स्थानीयस्तरमै रोजगारी पाए परदेश जान मन छैन । गाउँपालिकाले रोजगारी दिन नसक्ने भन्दै फर्काएको उनले गुनासो गरे । ‘भोकको चिन्ताले घर छाड्न बाध्य छौं,’ उनले भने । उनी भारतमा दुई वर्षदेखि कारखानामा काम गर्दै थिए । कोरोना महामारीको त्रास बढ्दा घर आए । अब फेरि पुरानै रोजगारीमा फर्कनुपर्ने बाध्यता रहेको उनले बताए । एक महिनाअघि उनीसहित एक दर्जन वडावासी घर फर्केका थिए । करिब दुई सातायता ५ नम्बर वडा कार्यालयले २४ जनालाई भारतमा काम गर्न अनुमतिसहितको सिफारिस दिएको छ । वडाध्यक्ष रामहर्ष थारूले भारतमा आधार कार्डसहित काम गर्दै आएकालाई सिफारिस गरी पठाएको बताए ।

केही दिनयता बढैयाताल–१ का ४० जना सिफारिसका लागि आएका थिए । तीमध्ये २५ जनाले भारतमा काम गर्न सिफारिस लिएको वडाध्यक्ष शेरबहादुर थापाले बताए । ‘सिफारिस नदिए झगडा गर्न आउँछन्,’ उनले भने, ‘हामीले रोजगारी दिन पनि सक्दैनौं ।’ सिफारिस नपाएका रोजगारीको माग गर्दै वडा कार्यालयमा दिनहुँ आउने गरेका छन् । सीमावर्ती वडा ४ को हालत पनि उस्तै छ । यहाँ दिनहुँ भारत जान सिफारिस माग्नेको भीड लाग्छ । वडाध्यक्ष काजीमान सुनारले यहाँ रोजगारी दिने अवस्था नभएको बताए ।

हरेक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेट २ लाख ५० हजार छुट्याइएको छ । ‘५ हजार बढीको आवेदन परेको छ,’ उनले भने, ‘सबैलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी गराउन सकिँदैन ।’

भारतमा रोजगारी गर्नेले मासिक २० हजार बढी भारु तलब पाउँछन् । यहाँ त्यस्तो अवस्था नभएको स्थानीय नरबहादुर खत्रीले बताए । भारतमा रोजगारीमा गएकाहरू यहाँ कृषि काम गर्न मान्दैनन् । कृषिबाट खासै आम्दानी नभएपछि भारतमा राम्रो कमाइ हुने भएकाले उतै आकर्षण भएको स्थानीय शंकर बीसीले बताए । निर्वाचनका समय जनप्रतिनिधिले पालिकामा कारखाना खोलेर सयौंलाई रोजगारी दिने आश्वासन दिने गर्छन्,’ उनले भने, ‘कारखाना स्थापना गर्नु त टाढैको कुरा, महामारीका समय भारतमा रोजगारीका लागि पठाउनु भनेको दुर्भाग्य हो ।’ करिब दुई सातायता यस पालिकाका विभिन्न वडाबाट करिब १ सय ५० जनाले सिफारिस लिइसकेका छन् ।

बढैयातालको जनसंख्या ७० हजार बढी छ । गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार गाउँपालिकामा १८ देखि ५० वर्ष उमेर समूहका १० हजारभन्दा बढी बेरोजगार छन् । ‘एउटै घरमा २/३ जनासम्म बेरोजगार छन्,’ उनले भने, ‘सबैलाई रोजगारी दिन सम्भव छैन ।’

कोरोना भाइरस

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully