जनकपुर — श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको कोरोनाबाट मृत्यु भएको छ ।
प्रादेशिक अस्पतालका अनुसार धनुषाको औरही गाउँपालिका-१ पुरनदैयाका ६० वर्षीय रामपरिक्षण सहनीको बुधबार मृत्यु भएको छ । उनको मृत्युपछि स्वाब संकलन गरिएको थियो । बुधबार साँझ उनको कोरोना भाइरसको रिर्पोट पोजिटिभ आएको थियो ।
मृतक सहनीलाई बिहीबार नेपाली सेनाको टिमले जमुनी नदीको किनारमा शव व्यवस्थापन गरेको श्रीनाथ गण महेन्द्रनगर धनुषाले जनाएको छ ।
धनुषामा कोरोना भाइरस संक्रमणका कारण बिहीबारसम्म १३ जनाको मृत्यु भइसकेको छ । प्रदेश २ मा भने हालसम्म १ सय ७ जनाको कोरोना भाइरस संक्रमणले मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
