चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा बिहीबार एकजना कोराना संक्रमित व्यक्तिको मृत्यु भएको छ । सिएमसीका निर्देशक डा.दयाराम लम्सालले निकालेको सूचना अनुसार निधन हुनेमा भरतपुर महानगरपालिका–११ का ६२ वर्षीय पुरुष रहेका छन् । उनी श्वासप्रश्वास सम्बन्धी समस्या भएका कारण भदौ १८ गते अस्पताल भर्ना भएका थिए । उनलाई २२ गते संक्रमण पुष्टि भएको थियो ।
उनलाई सघन उपचार कक्ष (आईसीयू)मा भेन्टिलेटरमा राख्नुका साथै रेम्डेसिभिर थेरापीबाट उपचार गरेको अस्पतालले जनाएको छ । उनको सवा १२ बजे निधन भएको हो । चितवनमा योसहित कोरोना संक्रमण देखिएका २४ जनाको निधन भएको छ । निधन भएकामध्ये १३ जना चितवनका छन् । चितवनमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का मात्रै ६ जना संक्रमितको निधन भएको छ ।
भदौपछि चितवनमा संक्रमण र संक्रमितको निधन बढ्न थालेको हो । साउन मसान्तसम्म चितवनका र चितवन बाहिरका गरेर दुई जनाको निधन भएको थियो । संक्रमितको संख्या २०९ थियो । चितवन स्वास्थ्य कार्यालयबाट प्राप्त विवरण अनुसार चितवनमा संक्रमितको संख्या बिहीबार दिउँसोसम्म एक हजार ८५ पुगेको छ । निको हुनेहरु २६३ छन् ।
