चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

भाद्र २१, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी)को शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना संक्रमितको आइतबार बिहान निधन भएको छ । अस्पतालले निकालेको सूचना अनुसार भरतपुर महानगरपालिका–१५ का ती व्यक्ति छातीमा समस्या आएका कारण भदौ १२ गते अस्पताल भर्ना भएका थिए । परीक्षण गर्दा भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएका उनको ‘एक्युट रेस्पिरेटरी फेलियर’ भइ निधन भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । उनको अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको बिहान ८ बजे निधन भएको अस्पतालले जनाएको छ । 

चितवनमा योसहित कोरोना संक्रमण देखिएका २२ जनाको मृत्यु भएको छ । निधन भएकामध्ये १२ जना चितवनका छन् । 

भदौपछि चितवनमा संक्रमण र संक्रमितको मृत्यु बढ्न थालेको छ । साउन मसान्तसम्म चितवनका र चितवन बाहिरका गरेर दुईजनाको निधन भएको थियो । संक्रमितको संख्या २०९ थियो । चितवन स्वास्थ्य कार्यालयबाट प्राप्त विवरण अनुसार चितवनमा संक्रमितको संख्या शनिबारसम्म ९८७ पुगेको छ । निको हुनेहरु १६७ छन् । 

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully