ढोरपाटन बाढीपहिरो : बस्ती नसार्दा क्षति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोरपाटन बाढीपहिरो : बस्ती नसार्दा क्षति

पाँच वर्षअघि विज्ञहरुले अध्ययन गरेर ढोरपाटनको बाढीपहिरोमा पर्न सक्ने क्षेत्रको सूची तयार पारेर सुरक्षा सतर्कता अपनाउनुपर्ने प्रतिवेदन दिएका थिए । उक्त प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्न कसैले पहलकदमी गरेनन् ।
प्रकाश बराल

बागलुङ — ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ र तत्कालीन जिल्ला भूसंरक्षण कार्यालयले ५ वर्षअघि ढोरपाटनको भुजीखोला जलाधार क्षेत्रको अध्ययन गरेका थिए । ०७२ को भूकम्पलगत्तै गरिएको उक्त अध्ययनको प्रतिवेदनमा जोखिम क्षेत्रका रूपमा बुधबार राति बाढीपहिरो प्रभावित क्षेत्र पनि सूचीकृत थियो ।

खोला किनारका कतिपय बस्ती सार्नुपर्ने अध्ययनको निष्कर्षमा सुझाइएको थियो । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले सुझाव दिए पनि कार्यान्वयन गर्ने निकाय अभावमा पूर्वसुरक्षा सतर्कताको कुनै काम हुन नसकेको बताउँछन् । ‘अहिले त्यतिबेलाको प्रतिवेदनलाई अध्ययन गर्ने र जोखिम व्यवस्थापन गर्ने निकाय छैन,’ उनले भने, ‘नगरपालिकाले चाहेको भए केही पहल गर्न सक्थ्यो, नत्र संघीय सरकारको पहलबिना ठूलो बस्ती सार्न सकिँदैन ।’

भूसंरक्षण कार्यालय बागलुङका तत्कालीन प्रमुख श्रेष्ठ पनि उक्त अध्ययनमा संलग्न थिए । कोरियाको ग्रिन ग्रोथ नामक संस्थाको सहयोगमा पुल्चोक क्याम्पसका दुर्गाप्रसाद संग्रौला र दिनेश लामिछानेले भुजीखोला जलाधार क्षेत्रको अध्ययन गरेका थिए । तीन हजारदेखि ४ हजार मिटर उचाइको ढोरपाटनको देउरालीको डाँडामा दक्षिणबाट बहेर आउने मनसुन ठोक्किँदा बर्सेनि मुसलधारे वर्षा हुने प्रतिवेदनमा छ । ‘क्याल्सियमयुक्त कमेरेमाटोले अत्यधिक वर्षापछि बाढीको रूप लिने गर्छ,’ उनले भने, ‘०७२ सालको भूकम्पपछि पहिरोको जोखिम बढेको हो ।’

दुई वर्षअघि पनि यहाँको चाँमेद्वारमा ठूलो पहिरोले बस्ती पुरेको थियो । समयमै सूचना दिँदा मानवीय क्षति कम भएको थियो । वर्षायाममा जतिबेला पनि जोखिम निम्त्याउन सक्छ भन्दै ढोरपाटन नगरपालिका–९ को सुपुर्दुङ र फलियाघर, वडा ६ को चाँमेद्वार र गाडीखोलाका बस्ती सुरक्षित बनाउन प्रतिवेदनले सुझाव दिएको श्रेष्ठले स्मरण गरे ।

अध्ययन टोलीले भुजीखोलाको दायाँबायाँ कम्तीमा एक सय मिटरसम्म घरबस्ती नराख्न सुझाव दिइएको थियो । ‘जहिले पनि ठूला रूख, ढुंगासहितको बाढी आएर बस्ती बगाउने खतरा देखेका थियौं, सोहीअनुसारको सुझाव पनि दिएका हौं,’ हाल कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहेका श्रेष्ठले भने, ‘केही योजना बनाएर कार्यान्वयन गरे पनि कार्यालय नै खारेजीमा परेपछि योजनाको औचित्य पनि सकिँदा बुधबारको विपत्ति आएको हो ।’ हिउँदमा हिउँले खाएको जमिनमा अत्यधिक वर्षा भएपछि सहजै पहिरो खस्ने उनले बताए ।

गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले त्यस्ता प्रतिवेदन अध्ययन गरेर संरक्षण गर्ने कार्यालय अभाव भएको बताएका छन् । ‘मैले पटक–पटक सबै जिल्लामा जलाधार संरक्षण कार्यालय राख्नुपर्छ भनेको छु । संघीय सरकारमा पनि माग गरेको छु,’ लम्सालले भने, ‘प्रतिवेदन अध्ययन गरेर सुरक्षाको उपाय गर्न सकेको भए यो विपत्ति आउने थिएन ।’ गण्डकी प्रदेशका तीन सयभन्दा बढी जलाधार क्षेत्र जोखिममा रहेकाले जलाधार मात्रै हेर्ने कार्यालय आवश्यक भएको उनले बताए । स्थानीय तहले पनि खोलैमा बस्ती बस्न दिन नहुने उनको भनाइ छ । ढोरपाटन–५ का वडाध्यक्ष लक्ष्मण पुनले स्थलगत अध्ययन गर्दा पनि कमजोर भूमि भएकै कारण बाढीले बढी क्षति गरेको निष्कर्ष निकाले । यो वर्षको अत्यधिक वर्षा र कमजोर भूगोल नै कारक भएको उनको भनाइ छ ।

गत वर्षदेखि नै यो क्षेत्रमा जमिन चिरा परेको, साना पहिरो खसिरहेको देखेको स्थानीयले बताएका छन् । ‘बस्तीमा जोखिम छ भनेर केही दिनदेखि नै भनेको सुनेको थिएँ,’ स्थानीय सिर्जना घर्तीमगरले भनिन्, ‘चिराचिरा परेको खण्डबाट पहिरो खसेको रहेछ ।’ देउरालीमा गत असारमा खनिएको केही सडक खण्डको माटोसमेत पहिरोको सहयोगी बनेको उनले बताइन् ।

बुधबार राति खसेको पहिरोले ढोरपाटन–७, ८ र ९ का ८० घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । अन्य ५१ घर आंशिक क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । ठूलो परिमाणमा खेतीयोग्य जमिन पनि बगेको र पुरिएको छ ।

पहिरोपछिको बाढीमा परेर १४ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको छ । शव भेटिएकामध्ये १३ जनाको पहिचान खुलेको डीएसपी राजेन्द्र रेग्मीले बताए । बुधबारको बाढीेले सयौं पशुबस्तु मरेका छन् । मानिस र जनावरको शवले दुर्गन्ध र महामारी बढ्ने भन्दै स्थानीय त्रसित छन् । १८ वर्षकी युवती र २२ वर्षका युवक गम्भीर घाइते छन् । घाइतेलाई काठमाडौं लैजाने तयारी छ ।

पहिरोले बुर्तिवाङदेखि ढोरपाटन जाने सडकको अधिकांश खण्ड छियाछिया पारेको छ । उक्त सडक अवरुद्ध भएकाले राहत सामग्री लैजानेले पनि पैदलै जानुपरेको छ । ‘बाटै छैन, पाखोबाट जोखिम मोलेर घटनास्थल पुग्यौं,’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, ‘तत्काल सडकको ट्र्याक खोलेर सहज आउजाउ बनाउनुपर्ने छ ।’

त्यसका लागि सडक निर्माणका योजनामा खबर गरेको उनले बताए । पहिरोले स्थानीयले लगाएको खेतीपाती नष्ट भएको छ । तीनवटा लघु जलविद्युत् आयोजना बगाएकाले अन्धकार छ । अन्य ८ वटा आयोजनामा क्षति पुगेको छ । टेलिफोनको नेटवर्क पनि नभएकाले स्थानीयले पीडा बताउन पाएका छैनन् । स्थानीय स्वास्थ्य चौकी बगाएकाले औषधिसमेत अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज दीपक थापाले जानकारी दिए । सामान्य उपचारका लागि पनि स्थानीयलाई तीन घण्टा हिँडेर बुर्तिवाङ पुग्नुपर्ने बाध्यता भएको छ ।

प्रकाशित : भाद्र २०, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल कोरोना अस्पतालमा थप २ संक्रमितको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।

गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११: १० बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । उनका अनुसार मृतक १५ गते अस्पताल आएका थिए । उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएपछि कोरोना विशेष अस्पतालमा राखी उपचार गरिएको थियो । विगत ४ दिनदेखि भेन्टिलेटरमा राखिएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा थापाले जनाए ।

यसैगरी, शनिबार बिहान नवलपरासी–२ प्रतापपुर की ३७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । महिला भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई पनि श्वासप्रश्वासमा समस्या भएर अस्पताल ल्याएर जाँच्दा पाजिटिभ आएको डा थापाले बताए । शुक्रबार रातिबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो ।

दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताए । अहिले अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २०, २०७७ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×