राहत लिएर गृहमन्त्री थापा ढोरपाटन पुगे

भाद्र १९, २०७७

प्रकाश बराल

बागलुङ — गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार दिउँसो ढोरपाटन पुगेर बाढीपहिरोपीडितलाई राहत वितरण गरेको छ । टोलीले पीडितलाई त्रिपाल, म्याट र खाद्य सामग्री वितरण गरेको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवलोकनपछि गृहमन्त्री थापाले पीडितलाई तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइने र वर्षा सकिएपछि एकीकृत बस्ती तयार गरिने बताए । नेपाली सेनाको हेलिकप्टरमा आएका गृहमन्त्री थापाको टोलीमा सांसद देवेन्द्र पौडेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलगायतका व्यक्ति थिए । 

बिहीबार गृहमन्त्री रामबहादुर थापा घटनास्थल पुगेर राहत वितरण गर्ने योजना रहे पनि खराब मौसमका कारण उनी चढेको नेपाली सेनाको हेलिकप्टर पुग्न नसकेपछि काठमाडौं फर्किएका थिए । 

मृतकमध्ये ६ जनाको पहिचान खुल्यो

बुधबार रातिको बाढीपहिरोले ढोरपाटन नगरपालिका वडा नं. ९ मा ४० भन्दा बढी घर बगाएको छ । बेपत्तामध्ये १४ जनाको शव फेला परेको छ । अझै करिब ४० जना मानिस हराइरहेको आशंका गरिएको छ ।  मृतकमध्ये अहिलेसम्म ६ जनाको परिचय खुलेको छ ।

२६ वर्षीया केशमाया विक, ४५ वर्षीय बिरे बिक, २२ वर्षीय जीवन विक,  ११ वर्षीय डल्ले विक, २१ वर्षीया दिलमाया पुन र ३५ वर्षीया रिनाकुमारी घर्तीको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सबै शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ । अन्य शवको पहिचान खुलेको छैन । 

सम्बन्धित समाचार

बाढी-पहिरो

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully