चितवनमा थपिए ७४ संक्रमित 

भाद्र १९, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरका दुई वटा प्रयोगशालामा भएको परीक्षणमा चितवनमा ७४ जना संक्रमित थप भएका छन् । चितवन स्वास्थ्य कार्यालयले जारी गरेको विवरणमा बिहीबार दिउँसोसम्म चितवनमा संक्रमितको संख्या ८५९ थियो । नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ९३३ पुगेको छ ।

संक्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएकाहरु १५६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएका ३०२ नमुनाको बिहीबार मध्यराति नतिजा आएको हो । जसमा भरतपुर महानगरपालिकाका १४ जना र खैरहनी नगरपालिकाका तीन जनामा गरी चितवनका १७ जनामा र एक जना रौतहटका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको ७०३ वटा नमुनाको नतिजा शुक्रबार बिहान सार्वजनिक भएको छ ।

चितवन मेडिकल कलेजमा भएको परीक्षणमा ८८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।  चितवन मेडिकल कलेजमा संक्रमण पुष्टि भएका  ८८ जनामध्ये ५७ जना चितवनका विभिन्न ठाउँका हुन् भने ३१ जना अन्य जिल्लाका बासिन्दा हुन् ।

भरतपुर अस्पतालको प्रयोगशालमा स्वाबको चाप बढेपछि चितवन मेडिकल कलेजले केही नमुनाहरु नि:शुल्क परीक्षण गर्न लागेको छ । भरतपुर अस्पतालले भदौ १६ मा ७७८ नुमना परीक्षणका लागि चितवन मेडिकल कलेज पठाएकोमा ७५ वटाको विवरण आउन बाँकी छ । चितवनमा साउन २१ यता कोरोना भाइरसको  संक्रमण तीव्र हुँदै गएको छ । 

साउन २१ सम्म चितवन जिल्लामा जम्मा ११६ जना संक्रमित थिए । साउन मसान्तसम्म जिल्लाका एक र बाहिरका एक गरेर दुई जना संक्रमितको मृत्यु भएको थियो । संक्रमण बढ्दै जाँदा नियन्त्रणका लागि भनेर चितवन जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा शुक्रबार मध्यरातसम्म कायम रहने छ । उद्योगी व्यवसायीले भदौ १५ पछि नै निषेधाज्ञा हटाउन माग गरे पनि जिल्ला प्रशासनको निर्णय आएको छैन ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully