ललितपुर, पर्सा, चितवन र रौतहटमा पछिल्ला तीन दिनमा भएका भीडभाड र झडपका घटनाले संक्रमण नियन्त्रणबाहिर जाने विज्ञहरुको चिन्ता
काठमाडौँ — स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन, पर्सा रौतहटलगायत १२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । यी जिल्लाबाट अन्यत्र संक्रमण फैलन नपाओस् भनेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय बासिन्दाको सहयोग हुनुपर्नेमा झन् भीडभाड र केही स्थानमा झडपसमेत भएको छ ।
बिहीबार ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय युवा र प्रहरीबीच झडप भयो । झडपमा प्रहरी र स्थानीय बासिन्दा घाइते भएका छन् । कोरोनाको अर्को हटस्पट पर्साको वीरगन्जमा स्थानीय बासिन्दा राहत खोज्दै जिल्ला प्रहरी कार्यालयसम्म भेला हुन आइपुगे । राहत नपाएको भन्दै विरोध गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर हटाउनुपरेको थियो । निषेधाज्ञा जारी भएको चितवनको भरतपुर महानगरपालिकाको गीतानगरमा बुधबार मलको खोजी गर्न एउटा सहकारीमा सयौं उपस्थित भए । निषेधाज्ञा जारी भएकै रौतहटमा मंगलबार जनप्रतिनिधिले कोरोना जितेको खुसियालीमा मोटरसाइकल र्याली निकाल्दा स्थानीय बासिन्दासँग झडप भयो ।
कोरोना कहर भुलेर कोही अभाव पूरा गर्न त कोही असन्तुष्टि पोख्न सडकमा निस्केका छन् । ‘नागरिकले आफ्नो दायित्व के हो भन्ने नबुझी सडकमा निस्कँदा कोरोना नियन्त्रण गर्न गाह्रो पर्छ,’ जनस्वास्थ्य विज्ञ डा. शरद वन्तले भने, ‘जबसम्म हामी आफू सुरक्षित रहने र अरूलाई पनि सुरक्षित राख्ने दायित्व पूरा गर्न सक्दैनौं तबसम्म प्रशासनले निषेधाज्ञा जारी गरे पनि कोरोना नियन्त्रण गर्न गाह्रो हुन्छ ।’
बिहीबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको ललितपुरलाई पनि स्वास्थ्य मन्त्रालयले कोरोनाको हटस्पट जिल्लाभित्र राखेको छ । यहाँ ६ सय ८५ जना सक्रिय संक्रमित छन् । ललितपुर महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार मंगलबजार, पाटन क्षेत्रमा मात्रै ७० भन्दा बढी संक्रमित छन् । महानगरको १६ नम्बर वडा मंगलबजार क्षेत्रमा मात्रै ५१ जना संक्रमित छन् । ‘जहाँ धेरै संक्रमित छन्, त्यहीं आन्दोलन भएपछि अबको अवस्था के होला भनेर हामी चिन्तित छौं,’ जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले भने । ललितपुरमा बिहीबारसम्म ८ सय १८ जना संक्रमित छन् ।
छिमेकी जिल्ला काठमाडौं र भक्तपुरमा पनि संक्रमित उत्तिकै छन् । मन्त्रालयका अनुसार ललितपुर, काठमाडौं र भक्तपुरमा ७ हजार ३८ संक्रमितमध्ये ६ हजार १ सय २७ जना निको भएका छैनन् । काठमाडौंमा मात्रै बिहीबारसम्म ५ हजार ६ सय २२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ५ हजार ६ जना उपचाररत छन् । भक्तपुरमा पनि ५ सय ९८ संक्रमितमध्ये ४ सय ३६ जना निको भइसकेका छैनन् । ‘यति धेरै संक्रमित भएका ठाउँमा झडपको स्थिति हुनु भनेको दुःखद घटना हो, यस्तो हुँदा नागरिक दायित्व पूरा भएको मानिँदैन,’ वन्तले भने, ‘हामीले साथ नदिने हो भने सरकारी संयन्त्र स्वास्थ्य र प्रहरीले मात्रै यो समस्या समाधान गर्न सक्दैनन् ।’
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ललितपुर महानगरमा ४४ जना संक्रमित थपिएका छन् । यही महानगरपालिकाका बासिन्दा भने रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै विरोधमा उत्रिए । निषेधाज्ञाका बेला रथ तानेको भन्दै प्रहरीले रोकेपछि झडप भयो । प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याससमेत प्रयोग गरेको थियो भने स्थानीय युवाले प्रहरी टोलीमाथि ढुंगामुढा गरेका थिए ।
ललितपुरमा जस्तै पर्साको वीरगन्जमा बिहीबार राहत खोज्दै नगरको श्रीपुर, मुर्ली र छपकैयाका सयभन्दा बढी महिला हातमा नागरिकता बोकेर राहत माग्न जिल्ला प्रहरी कार्यालयमा आइपुगे । प्रहरीले महिलालाई सामान्य बल प्रयोग गरेर फिर्ता पठायो । राहत नपाएको भन्दै महिलाले विरोधसमेत जनाए । ४० दिनदेखिको निषेधाज्ञाका कारण खानेकुरा सकिएको भन्दै उनीहरू प्रहरीसम्म आइपुगेका हुन् । प्रहरी उपरीक्षक गंगा पन्तले राहत माग्नेको भीड बढेकाले नाम दर्ता गरेर घरमै राहत पठाउने व्यवस्था मिलाइएको बताइन् ।
प्रदेश २ मा ११ हजार ७ सय १९ जना संक्रमित छन् । तीमध्ये ५ हजार १ सय ५२ जना अझै निको हुन बाँकी छ । आठ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित भएको पर्सामै हो । त्यहाँ २ हजार ४ सय ६१ जनामा संक्रमण भेटिइसकेको छ । सक्रिय संक्रमित मात्रै १ हजार ११ जना छन् । त्यहाँ कोरोनाले ३८ जनाको ज्यान गइसकेको छ ।
कोरोना भाइरस संक्रमण तीव्र भएपछि निषेधाज्ञा जारी गरिएको चितवनमा पनि मलको खोजीमा सर्वसाधारण बुधबार सयौंको संख्यामा भेला भए । भरतपुर महानगरपालिका–६ गीतानगरमा सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थाअगाडि लामबद्ध किसानको फोटो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उनीहरू कोरोनाको त्रास बिर्सेर ठेलमठेल गर्दै लाम लागेर १० केजीको दरले मल लिएर फर्किए ।
वाग्मती प्रदेशमा काठमाडौं उपत्यकापछि संक्रमितको संख्या बढी हुनेमा चितवन पर्छ । जहाँ बिहीबारसम्म ८ सय ८८ जना संक्रमित भइसके । कोरानाकै कारण ११ जनाले ज्यान गुमाएका छन् । चितवनमा ६ सय ६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको रौतहटमा पनि पछिल्लो साता भीडभाड गरेर झडप भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार रौतहट अर्को हटस्पट जिल्लामा पर्छ । जहाँ १ हजार ९ सय ८ संक्रमितमध्ये ८ सय ३६ जना अझै उपचाररत छन् । कोरोनाकै कारण ६ जनाले ज्यान गुमाइसकेका छन् । तर, गुजरा नगरपालिका–६ का वडाध्यक्ष सकिल अन्सारीले कोरोना संक्रमणमुक्त भई घर फर्केको खुसियालीमा मोटरसाइकल र्याली गर्दा स्थानीय बासिन्दासँग झडप भएको हो । र्याली निकालेका वडाध्यक्ष अन्सारीको समूह र स्थानीयबीच राति झडप भएको थियो । झडपमा दुवै पक्षका ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
‘जनस्तरबाट सहयोग र साथको अपेक्षा’
डा. जागेश्वर गौतम -प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपालमा कोभिड–१९ का बिरामीहरू दिन/प्रतिदिन वृद्धि भइरहेको अवस्था छ । यस रोगको रोकथाम एवं नियन्त्रणका लागि पालना गर्नुपर्ने मापदण्डबारे हामी सबै जना जानकार नै छौं । कतिपय व्यक्तिहरूले जनस्वास्थ्यका मापदण्ड पालना नगरी जमघट गरेको देखियो ।
काठमाडौं उपत्यकामा बर्सेनि मनाइने मत्स्येन्द्रनाथ जात्रामा उपस्थित भएको जमघट र सुरक्षाकर्मीर्माथि भएका व्यवहार अशोभनीय छन् । किनकि हामी सबै जनसमुदायका आ–आफ्नै धर्म–संस्कृति छन् । हामी त्यत्तिकै आस्थावान पनि छौं । महामारी प्रकोप न्यूनीकरणका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको अवस्थामा जनस्तरबाट सहयोग र साथको निरन्तरताको अपेक्षा गरेका छौं ।
जनसमुदायलाई यसको वास्तविक मर्म बुझिदिन विनम्र अनुरोध गर्दछौं । यस रोगको रोकथाम एवं नियन्त्रणका लागि उहाँहरूको विशेष भूमिका छ । उहाँमार्फत आफूअन्तर्गतको वडा एवं टोलटोलमा हुने गरेका जमघटको विशेष निगरानी गर्ने गरौं । जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न/गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैलाई विशेष अनुरोध गर्न चाहन्छ ।
