कोरोनाबाट चितवन मेडिकल कलेजमा थप एकको मृत्यु

भाद्र १४, २०७७

रमेशकुमार पौडेल

चितवन — भरतपुरस्थित चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा आइतबार कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.दायारम लम्सालले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार भरतपुर महानगरपालिका–११ घर भएका ५२ वर्षीय पुरुषको आइतबार मध्यान्ह १२ बजे निधन भएको हो ।

उनलाई निमोनिया र उच्च ज्वरो देखिएपछि भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो । भदौ ७ मा पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जनाएको छ । उनको अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

चितवन मेडिकल कलेजमा शुक्रबारयता चारजना संक्रमितको निधन भएको छ । शुक्रबार हेटौंडाकी महिलाको निधन भएको थियो । शनिबार बाराकी महिला र नवलपरासीका पुरुषको ज्यान गएको थियो । अस्पतालमा अझै पनि ४० संक्रमितको उपचार भइरहेको छ । १८ को अवस्था गम्भीर छ ।

चितवनमा योसहित कोरोना भाइरसको संक्रमण देखिएर उपचारका क्रममा ज्यान गुमाएकाहरुको संख्या १२ पुगेको छ । तिमध्ये पाँचजना चितवनका हुन् । बाँकी अन्य जिल्लाका छन् । १० जनाको निधन भदौ लागेपछि भएको हो । 

साउन २१ गतेयता कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि तीव्र बनेको छ । कुल संक्रमितको संख्या ६ सय पुगेको छ । संक्रमण बढेका कारण चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा लागेको छ ।

कोरोना भाइरस

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully