कारागारमा कोरोना संक्रमण बढ्दो छ : गृहमन्त्री 

संविधान दिवसका अवसरमा कैदी संख्या घटाउनेबारे गृहकार्य गर्दै सरकार

भाद्र १४, २०७७

जयसिंह महरा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले नेपालका कारागारहरूमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको बताएका छन् । कैदीबन्दीलाई एक ठाउँबाट अर्को ठाउँमा ल्याउँदा र लैजाँदा कोरोना संक्रमण हुने गरेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको भर्चुअल बैठकमा गृहमन्त्री थापाले भनेको कुरा उल्लेख गर्दै एक सांसदले भने, 'कारागारमा कोरोनालाई मध्यनजर गरेर पर्याप्त स्वास्थ्य सुरक्षा अपनाएका छौं । स्यानिटाइजर, पानीको व्यवस्था गरिएको छ । तर पनि बन्दीहरूलाई ल्याउँदा र लैजादा संक्रमण फैलिँदै गएको छ ।'

समितिको बैठकमा कारागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोख्रेलले कुन कारागारमा कति कैदीबन्दीमा कोरोना संक्रमण भएको छ भन्ने जानकारी दिएका थिए ।

प्रमुख पोख्रेलका अनुसार केन्द्रीय कारागारका ७ बन्दीमा पछिल्लो समय कोरोना संक्रमण देखिएको छ । सबै गरेर केन्द्रीय कारागारमा १३ जना संक्रमित रहेका छन् । तीमध्ये ३ जनामा लक्षण देखिएको र बाँकीमा संक्रमणको लक्षण नभएको उनले बताए ।

'कोरोनाको संक्रमण देखिएका ३ जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लैजाने तयारी भइरहेको छ भने बाँकी १० जनालाई कीर्तिपुरको आयुर्वेद अस्पतालमा लगिएको छ,' पोख्रेलले भने । कारागारमा संक्रमण फैलिन थालेसँगै कैदीबन्दीसँग बाहिरका मान्छेको भेटघाट बन्द गरिएको र नयाँ कैदीको पीसीआर परीक्षण गरी १० दिन आइसोलेसनमा राखेर मात्रै बन्दी गृहमा पठाइन थालिएको उनले जानकारी दिए ।

३ हजार एक सय कैदीबन्दी रहेको केन्द्रीय कारागारमा कोरोना संक्रमण रोकथाम र उपचारका लागि पर्याप्त सुरक्षा सावधानी अपनाइएको पोख्रेलको भनाइ थियो । कारागारको अस्पताल र विद्यालयलाई आइसोलेसन र क्वारेन्टाइनमा परीणत गरिएको उनले बताए ।

त्यस्तै मुलुकका विभिन्न कारागारमा पनि कोरोना संक्रमित रहेको पोख्रेलको भनाइ थियो । बाँके जिल्ला कारागारमा ८ जनामा कोरोना संक्रमण देखिएको र उनीहरूलाई निको भएको उनले बताए । स्याङजाका एक कैदीमा कोरोना देखिएकोमा पोखरामा उपचार गराएर निको भइसकेको उनको भनाइ थियो ।

सिरहा कारागारका ७ जना संक्रमितमध्ये ३ जना निको भइसकेका र ४ जनाको उपचार भइरहेको पोख्रेलले बताए । सुनसरीको जेलमा रहेका ८ जना कैदी संक्रमित भएकोमा ४ जना कोरोनामुक्त भएको पनि उनले जानकारी दिए ।

मुलुकभरका कारागारमा १६ हजार कैदीको क्षमता रहेको तर २४ हजारले कैद भुक्तान गरिरहेकाले अहिलेको समयमा कोरोना भाइरसको संक्रमण फैलिने हो कि भन्ने डर भएको पोख्रेलले बताए ।

असोज ३ गते संविधान दिवसको अवसरमा कैदीहरूलाई घटाउने गृहकार्य भइरहेको पोख्रेलले संसदीय समितिलाई जानकारी दिएका छन् ।

संसदीय समितिको बैठकले कोरोना संक्रमित भेटिएका कारागारका कैदीबन्दीको अनिवार्य पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति शशी श्रेष्ठले 'कैदीबन्दी र सुरक्षाकर्मीका लागि कोरोनाबाट सुरक्षित रहने र उपचारको व्यवस्था गर्ने योजना ल्याएर लागू गर्न निर्देशन दिइएको' बताइन् ।

सांसदहरूले निश्चित समय कैद भुक्तान गरेकालाई मुक्त गर्नुपर्ने बताएका थिए । नेकपाका सांसद झपट रावलले ६० प्रतिशत कैद भुक्तान गरेकालाई माफी दिनुपर्ने बताए । त्यसरी छुटेको कैदीले फेरि अपराध गरेमा भने माफी भएको सजाय पनि गराउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

'राज्यले चाह्यो भने ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मुक्त गर्न सकिन्छ । कैद मिनाहा गरेर रिहाइ गर्न सकिन्छ । परिवारको रोहबर तीन पुस्ते विवरण लिएर कैदीहरूलाई घर पठाउनुपर्छ,'  सांसद यशोदा सुवेदीको भनाइ थियो ।

कोरोना भाइरस

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully